Odapalika - The Fourth Estate - चौथो अंग
जहाँ चल्यो डोजर 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुरु गरेको अनधिकृत संरचनामाथि डोजर चलाउने अभियान अहिले देशव्यापी छ । काठमाडौँले सुरु गरेको यो अभियान अहिले बाक्लो सहर भएका सबैजसो पालिकामा सञ्चालन भइरहेको छ । यो अभियान यति प्रचलित भयो कि यसलाई अहिले ‘डोजर काण्ड’ भनेर देशैभर चिनिन्छ ।
अनधिकृत संरचनामा डोजर चलाउने योजना र अभियान केन्द्र सरकारले पटक-पटक चलाए पनि अहिलको जस्तो व्यापक हुन सकेको थिएन । तर, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले यो अभियान सुरु गरेपछि सबैतिर यसको चर्चा भयो । यसैको सिको गर्दै अन्य पालिकाले पनि यस अभियानलाई आफ्नो पालिकाको मुख्य योजना नै बनाएर सञ्चालन गरे ।
१३ जेठमा आएको परिणामले काठमाडौँको मेयरमा विजयी भएका बालेन्द्र शाह (बालेन) ले १६ जेठमा पद तथा गोपनीयताको शपथ लिएका थिए । अबको १ सातामा बालेनको कार्यकालले पनि १ वर्ष पार गर्दै छ ।
यो अवधिमा बालेनले गरेका कामलाई हेर्ने हो भने टुकुचा खोला संरक्षण र फुटपाथ व्यवस्थापनदेखि अनधिकृत संरचना हटाउने अभियान बढी चर्चामा रहे । २५ चैतमा सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर नउठाउने गरी दिएको निणर्यले त संसद् नै ततायो । सबैभन्दा बढी र लामो समयसम्म चर्चामा रहेको विषय भने अनधिकृत संरचनामा चलेको डोजर बन्यो । 

सयौँ संरचनामा चल्यो डोजर
लथालिंग रहेको काठमाडौँलाई व्यवस्थित गर्न महानगरले चालेको कदमकै कारण आज कतिपय सडक खुला भएका छन् भने हिँडडुल गर्नै सास्ती खेप्नुपर्ने बाध्यता केही हदसम्म समाधान भएको छ । ८ भदौमा सुरु भएको महानगरको अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत अहिलेसम्म ८० वटा संरचनामा डोजर चलिसकेको छ । 
त्यस्तै, घर बनाउँदा सार्वजनिक जमिन मिच्ने गरी बनाइएका १५० वटा सेटब्याक (घरबाट बढी निस्किएको भाग) पनि महानगरले हटाएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए । पाण्डेका अनुसार यस अवधिमा १६ हजार ५७० ओभरल्याप पनि हटाइएको छ । जसअन्तर्गत अनधिकृत रूपमा निकालिएका घरका ‘टप’ जस्ता संरचना बढी छन् । 
काठमाडौँमा विकराल समस्याको रूपमा देखापर्दै आएको पार्किङको समस्या समाधान गर्न पनि अनधिकृत संरचना हटाउने योजनाले मद्दत पुर्‍याएको अनुमान लगाउन सकिन्छ । यसका लागि महानगरले पहिलो चरणमा भूमिगत पार्किङ खाली गराउने र त्यसपछि सडकमा रहेका अनधिकृत पार्किङ हटाउने योजना ल्याएको थियो । त्यति गर्दैमा काठमाडौँको यो समस्या समाधान हुने देखिँदैन । तर, सडकमा असरल्ल मोटरसाइकल छरिँदा पैदल यात्रीलाई परेको समस्या भने केही हदसम्म समाधान भएको देखिन्छ । 
‘घर बनाउँदा पार्किङका लागि भनेर नक्सामा भूमिगत पार्किङको व्यवस्था गर्ने, अनि घर बनेपछि त्यसलाई भाडामा लगाएर अवैध रूपमा भाडा उठाउने गरेका कारण पनि समस्या देखिएको थियो । त्यसमा हाम्रो निरन्तर निगरानी रहन्छ,’ पाण्डेले भने, ‘पार्किङ भनेर तोकिएको ठाउँमा होटल खोल्ने अनि त्यही होटलमा चिया खानचाहिँ सडकमा पार्किङ गरेर अरूलाई दुःख दिने कुरा महानगरले हेरेर बस्दैन । त्यस्ता संरचना हामी तत्कालै हटाउँछौँ ।’
यसमा महानगरको प्रगति विवरण हेर्ने हो भने अहिलेसम्म ९५ हजार ५३८ स्क्वायर फिट भूमिगत पार्किङ खाली गराइसकिएको छ भने १ लाख ८० हजार ७५६ स्क्वायर फिट कालोपत्र सडकमा रहेको पार्किङ हटाइएको छ । यस्ता पार्किङलाई महानगरले अवैध पार्किङका रूपमा पहिचान गर्दै हटाउने अभियान चलाएको थियो ।
महानगरको डोजर व्यक्तिगत संरचनामा मात्र चलेको छैन । यसबीचमा प्रहरीका ३ वटा संरचनामा पनि महानगरले डोजर लगायो । मैतीदेवी, रत्नपार्क र जडीबुटीमा रहेको अस्थायी प्रहरी बिटमा पनि ‘बालेनको डोजर’ चल्यो । ती प्रहरी बिटका कारण पैदल यात्रीलाई निकै समस्या पनि परेको थियो । सडकपेटी नै कब्जा गरेर बनाइएका त्यस्ता संरचना हटेपछि आफूहरूलाई पनि सहज भएको पैदलयात्री बताउँछन् ।
जेठको अन्तिम साता यसै विषयलाई समेटेर महानगरले प्रगति विवरण पनि सार्वजनिक गर्दै छ । महानगर प्रहरी बलका अनुसार महानगरअन्तर्गत नगर प्रहरीले गरेका कामलाई समेटेर प्रगति विवरणको प्रतिवेदन सार्वजनिक हुनेछ । 
करिब २५० दिनसम्म आइपुग्दा महानगरको यो कामले ५०० बढी मुद्दाको पनि सामना गरिरहेको छ । जसमा २५ वटा मुद्दा त अनधिकृत संरचना हटाएकै विषयमा परेका छन् । विरोध र अवरोधको पनि संख्या जोड्ने हो भने यसको आँकडा हजारौँ छ । काठमाडौँ दिनहुँ साँघुरिँदै छ । भएका सम्पदा मासिँदै छन् भने सडकमै जोडिएका संरचनाले गर्दा काठमाडौँ अव्यवस्थित बनिरहेको सन्दर्भमा बालेनले चालेको कदमलाई अधिकांशले स्वागत पनि गरेका छन् ।
देशको राजधानीसमेत रहेको काठमाडौँको पदचापलाई पछ्याएर देशका अन्य पालिकाले पनि आफ्नो नीति तथा कार्यक्रम बनाउँछन् भन्ने गतिलो उदाहरण पनि हो यो । काठमाडौँलगत्तै भरतपुर महानगरले पनि सडक छेउछाउ रहेका अनधिकृत संरचना हटाउन जोडतोडका साथ डोजर लगायो । 
पुल्चोक-लायन्स चोक हुँदै टिकुली जंगलको छेउ गोन्द्राङसम्मको सडक विस्तारका क्रममा भरतपुरलाई त्यहाँ रहेका अनधिकृत संरचना हटाउन हम्मेहम्मे परेको थियो । तर, बालेनले गरेको आँटलाई पछ्याउँदै रेणु दाहालले पनि त्यो हिम्मत निकालिन् । त्यसको परिणाम अहिले भरतपुरमा देखिएको छ । सडक चौडा त भएकै छ, खुला हुँदा सुन्दर पनि उत्तिकै देखिएको छ । भरतपुरमा मात्र होइन, यो अभियान अहिले धरान, धनगढी उपमहानगरसँगै धेरैजसो पालिकामा सञ्चालन भइरहेको छ । 
८ भदौ, २०७९ मा सुरु भएको यो अभियानले ८ महिना पार गर्दै गर्दा निकै ठुलो सफलता पाएको देखिन्छ । सफलतासँगै यस अभियानकै कारण कतिपयको रोजगारी गुमेको र बिचल्ली परेका घटना पनि बाहिरिएकै छन् । त्यस्ता घटनाको व्यवस्थापन गर्ने जिम्मेवारी पनि कतै न कतै महानगरसँगै जोडिएको छ । यसतर्फ पनि महानगरले आफ्नो योजना सार्वजनिक गर्ने मेयर बालेन निकट स्रोतले बतायो ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update