Odapalika - The Fourth Estate - चौथो अंग
बर्दघाटका अपांगता भएकालाई निःशुल्क उपचार 

नवलपरासी । सुस्ता पश्चिमको बर्दघाट नगरपालिकाले पालिकाभित्र रहेका अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा दिन थालेकाे छ । 

निःशुल्क उपचारका लागि पालिकाकाभित्रका २ वटा सामुदायिक अस्पतालमा व्यवस्था मिलाएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । 

‘अपांगता भएकाको स्वास्थ्योपचारलाई बनाउन निःशुल्क उपचारको सुरुआत गरेका छौं ।’ नगरप्रमुख श्रेष्ठले भने । 

नगर मातहतका अस्पतालले दिन भ्याउने सबै सेवा सुविधा निःशुल्क दिइनुका साथै अन्यत्र उपचार गर्न जानुपर्ने एम्बुलेन्स सेवासमेत छुट दिइने स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए । 

यो सुविधा साउनदेखि नै लागू गरिएको उनले जानकारी दिए । सामुदायिक अपांग सेवा केन्द्रका अध्यक्ष रमेश श्रेष्ठले अपांगता भएकालाई यसले थोरै भए पनि राहत पुर्याउने जनाउँदै नगरको निर्णय स्वागतयोग्य भएको बताए ।

निलो र सेतो परिचयपत्र भएका भत्ता नपाउने अपांगता भएकालाई नगरको यो निर्णयले विशेष राहत मिल्ने उनको भनाइ छ । नगरपालिकाभित्र ७७९ अपांगता भएका व्यक्तिमध्ये ४८७ जनाले परिचयपत्र लिएको नगरपालिकाले जनाएको छ ।

पालिका अब पूर्ण संस्थागत प्रसूति सेवायुक्त 

सुनवल र बर्दघाट नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिकाका भएका छन् । 

जनस्वास्थ्य तथा पोषणमा समेटिएको ८८ सूचकमध्ये ४४ प्राथमिक स्वास्थ्य सेवामध्ये समग्रमा सुरक्षित मातृत्वतर्फ आवश्यक सूचक पूरा भएको तथ्यांकका आधारमा दुवै नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएका हुन् ।

बर्दघाटमा १६ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र र एउटा अस्पताल छ ।  बर्दघाट नगरप्रमुख श्रेष्ठले केही वर्षभित्रमै सबै आधारभूत स्वास्थ्य केन्द्रमा ‘बर्थिङ सेन्टर’को स्थापना र नगरवासीलाई प्रभावकारी स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने बताए ।  

सुनवल  नगरप्रमुख विमला अर्यालले सुनवल नगरपालिकाले ‘बार्थिड सेन्टर’ स्थापना गरेको र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको बताइन् । 

पालिकाका १३ वटै वडाबाट आधारभूत स्वास्थ्य सस्थाबाट गर्भवतीलाई गर्भावस्थादेखि नै जाँचमा विशेष सहयोग गरिदै आएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update