Odapalika - The Fourth Estate - चौथो अंग
जाजरकोट भुकम्पमा १२८ जनाको मृत्यु पुष्टि, केन्द्रबिन्दु बारेकोटका  अध्यक्ष भन्छन्ः सग्ला घर छैनन् 

काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पमा परेर ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ । 

जाजरकोटमा मात्र ९२ जनाको मृत्यु हुँदा रुकुम पश्चिममा ३६ जनाको मृत्यु पुष्टि भएको सरकारी अधिकारीहरुको भनाइ छ । दुवै जिल्लामा गरी सयौं घरगोठहरु भत्किएका छन् भने घाइतेले स्थानीय अस्पताल भरिएका छन् । 

भूकम्पको केन्द्रविन्दु पर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी भने केन्द्रबिन्दु पालिकमै मृत्युको विवरण प्राप्त नभएको बताउँछन् । तर आफुले अहिलेसम्म पािलकाभित्रका कुनैपनि घर सग्लो अवस्थामा भने नदेखेको बताएका छन् । 

आफू विभिन्न वडाहरुमा पुग्दा घरहरुमा व्यापक क्षति पुगेको देखेको उनले जानकारी दिए । ‘म भूकम्प गएदेखि नै मोटरसाइकल लिएर वडावडामा पुगेर अवस्था बुझिरहेको छु । अहिलेसम्म हाम्रो पालिकामा मानवीय क्षति भएको दुःखद खबर सुन्नु परेको छैन तर एउटा पनि घर सग्लो अवस्थामा मैले देखेको छैन ।’

गाउँपालिकाको उत्तरी क्षेत्रमा भने टेलिफोन सम्पर्क स्थापित हुन नसकेकोले मानवीय र भौतिक क्षतिवारे जानकारी नभएको उनले बताएका छन् । 

भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भइसकेको छ भने ठाउँठाउँमा खसेको पहिरोका कारण उद्धार कार्यमा समस्या भइरहेको उनले वताए । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update