Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर सक्रिय

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर’ (इटीसी)लाई सक्रिय बनाएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले क्लष्टरलाई सक्रिय बनाउने निर्णय गरेको हो । 

बैठकले भूकम्प प्रभावित क्षेत्रमा टेलिफान तथा इन्टरनेट सेवा सञ्चालन गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

 त्यस्तै सेवा प्रदायकहरुले सेवालाई प्रभावकारी बनाउन सम्पर्क विन्दु र सम्पर्क व्यक्ति तोक्ने र निन्तर सम्पर्कमा रहने पनि बैठकले निर्णय गरेको छ । बैठकले भूकम्प प्रभावित क्षेत्रबाट सत्यतथ्य, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । 

बैठकले केन्द्रीय र जिल्ला आपतकालीन केन्द्रसँग निरन्तर सम्पर्कमा रहने निर्णय पनि गरेको छ । बैठकमा नेपाल टेलिकमका पदाधिकारीहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा आधारभूत दूरसञ्चार सेवा निःशुल्क गरेको जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update