Odapalika - The Fourth Estate - चौथो अंग
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि प्रदेश सरकारले गरे राहतको घोषणा

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र  पुनर्स्थापनाका विभिन्न संघ संस्थाले राहत रकम दिन थालेका छन् । शुक्रबार राती आएको भूकम्पमा परेका लागि राहत तथा पुनस्थार्पनाका लाग प्रधानमन्त्री दैवी प्रकोप कोषमा राहत रकम आउन थालेको हो । 

शनिबार दिउँसोसम्म लुम्बिनी प्रदेशनले डेढ करोड, कोशी सरकार र बुद्ध एयरले एक एक करोड रुपैयाँ तथा विश्व खाद्य कार्यक्रमले ५ मेट्रिकटन चामल उपलब्ध गराउने घोषणा गरेका हुन्। 

लुम्बिनीले डेढ करोड दिने

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए ।

साथै प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ । 

प्रदेशले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका परिवारप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ । 

कोशी सरकारले एक करोड दिने

कोशी  प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र  पुनस्र्थापनाका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको छ ।

शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले नगदसँगै एक ट्रक राहत सामग्री पनि पठाउने निर्णय गरेको छ । 

बुद्ध एयरले एक करोड दिने

काठमाडौं । बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि राहत स्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

बुद्धले राहत स्वरुप प्रधानमन्त्री दैवी प्रकोप कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । 

‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहिन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रुपैयाँ सहयोग दिने निर्णय गरेका छौं । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनवद्ध छौं’ बुद्ध एयरले जारी गरेको सूचनामा भनिएको छ । 

एनसेलले ५० लाख सहयोग गर्ने

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले भूकम्पपीडित राहत कोषणमा ५० लाख सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानुनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायले जानकारी दिए । 

त्यस्तै एनसेलले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको भ्वाइस र र डाटा निःशुल्क गर्ने निर्णय गरेको पनि जानकारी दिएको छ । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सुचारु गर्न निजी क्षेत्रका सेवा प्रदायकहरुलाई आग्रह गरेको थियो ।
 

विश्व खाद्य कार्यक्रमले चामल पठाउने

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहतका लागि विश्व खाद्य कार्यक्रमले ५ मेट्रिक टन चामल पठाउने भएको छ । खाद्य कार्यक्रमले शनिबार नै उक्त चामल पठाउने तयारी थालेको छ । 

जाजरकोटका लागि ३ र रुकुमपश्चिमका लागि २ मेट्रिक टन चामल नेपालगन्ज, सुर्खेत हुँदै पीडित भएको ठाउँसम्म पठाउन लागिएको हो । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update