Odapalika - The Fourth Estate - चौथो अंग
‘विस्थापितको पुनर्वास र खाद्यान्नको व्यवस्था अहिलेको प्राथमिकता’

काठमाडौं । भूकम्पको ठूलो झड्का आएकाले सबैले एकसाथ थाहा पायौँ । रातभर गाउँपालिकाभित्र भएको क्षतिको अनुगमन गरी जानकारी लियौँ । बारेकोटमा केन्द्रबिन्दु भए पनि मानवीय क्षति भएको छैन । भौतिक संरचनामा भने ठूलो क्षति भएको छ । झण्डै एक हजार परिवार विस्थापित भएका छन् । उनीहरुको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बस्नै नहुने अवस्था छ । अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा छन् । 

भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन् ।  भूकम्पपीडित गाउँभन्दा टाढा जङ्गल, गुफा र चौरमा बसिरहेका छन् । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खाद्यान्न वितरण गरिएको छ । सङ्घीय र प्रदेश सरकारसँग एक हजार परिवारको पुनःस्थापनाका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरिएको छ । विस्थापित परिवारलाई व्यवस्थापन गर्नेतर्फ लागिरहेका छौँ । 

भूकम्पमा परी बारेकोटमा पाँच जना घाइते भएका छन् । दुई जनालाई सामान्य उपचार गरी घर पठाइसकेका छौँ । तीन जनालाई हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाएका छौँ । बारेकोट( १ केन्द्रबिन्दु रहेको भूकम्पबाट त्यहाँ सडकलगायत भौतिक संरचनामा क्षति पुगेको छ । घर क्षतिग्रस्त छन् । जमिन भासिएको छ । चिराचिरा परेको छ । भग्नावशेष जस्तो देखिएको छ । गाउँपालिकाको केन्द्रबाट तीन किलोमिटर टाढा रहेको भूकम्पको केन्द्रबिन्दुमा बस्ती, जङ्गल र खोला छ । विस्थापितको पुनर्वास र खाद्यान्नको व्यवस्था गर्नु अहिलेको प्राथमिकता हो ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीसँग गरिएको कुराकानी

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update