Odapalika - The Fourth Estate - चौथो अंग
पशुपन्छीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्र पुग्यो पशु विशेषज्ञ टोली

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उपचारको लागि विशेषज्ञ टोली पठाएको छ ।

भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली शनिबार प्रभावित क्षेत्रमा पठाएको हो । 

कृषि मन्त्रालयका सचिव डा. रेवतीरवण पौडेलका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा. लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा. राकेश प्रजापतीको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइएको छ । उनीहरुले भूकम्पले बढी प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिममा पशुचौपायाको उपचारमा खटिने छ ।

स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपन्छीको उपचारमा लाग्ने टोलीले जनाएको छ  । 

शुक्रबार रातिको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा मानविय र भौतिक क्षति भएको छ । सँगै धेरै घरपालुवा पशुचौपाय पनि भूकम्पबाट प्रभावित भएको छ ।  

भूकम्पबाट पशुपन्छीसमेत प्रभावित भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले प्रभावित क्षेत्रमा विशेषज्ञ टोली पठाउन निर्देशन दिएका थिए ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले केन्द्रीय मन्त्रालयमा जाजरकोटमा भूकम्पबाट गाई, भैसी, बाख्रा गरी २७ पशुको क्षति भएको विवरण दिएको छ । थप विवरण संकलन भइरहेको कर्णाली प्रदेश मन्त्रायलले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update