Odapalika - The Fourth Estate - चौथो अंग
एउटै वडामा गयो ३१ जनाको ज्यान, बाटो बनाउन हारगुहार गरिरहे वडाध्यक्ष 

काठमाडौँ । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ को जानुका विकको परिवार शुक्रवार खाना खाएर सुतेका थिए । १० जनाको परिवारका सदस्यमध्ये ६ जनालाई शुक्रवार मध्यरातमा गएको भुकम्पले सुतेकै स्थानमा ज्यान लियो । 

१ जना विदेश भएका कारण बाँच्न सफल भए भने ३ जनाले भागेर ज्यान जोगाउन सफल भए । 

भेरी नगरपालिकाको वडा नम्बर १ मा मात्र ३१ जनाले ज्यान गुमाए । अधिकांशको बेलैमा उपचार गर्न नपाएका कारण मृत्यु भएको वडा अध्यक्ष दिपक रानाको गुनासो छ । 

नगरपालिकाको विकट क्षेत्रमा पर्ने यो वडामा भुकम्पले सडक भत्काइदियो । सडक भत्किएपछि वडाध्यक्षले सिडिओ, मेयर, उपमेयरलगायतलाई निरन्तर अवरुद्ध सडक खुलाउन पहल गरिरहे । 

यो बेलासम्म घाइतेको उद्धार गरेर १६ किलोमिटर टाडा रहेको सदरमुकाम खलंगा लैजान पनि समस्या भयो । अन्तत यति विल्डर्सले डोजरलगायतका सामग्री लगेर बाटो खुलाएपछि बल्ल घाइतेलाई रुकुमपश्चिम हुँदै नेपालगंजसम्म लगेर उपचार गराउन सम्भव भयो । 

वडाध्यक्ष अवरुद्ध सडक वेलैमा खुलाउन सकेको भए यति धेरै मानवीय क्षति व्यहोर्न पर्थेन कि भनेर थकथकी मान्छन् । पीडितको उद्धार र राहतमा भुकम्प गएलगत्तैबाट निरन्तर खटिरहेका वडाध्यक्ष राना वडापालिकाको सम्पर्कमा आउँदा पालिकाको विपत व्यवस्थापन समितिको बैठकमा जाने तरखरमा थिए । 

उनले विभिन्न व्यक्तिहरुले राहतका लागि पहल गरिरहेपनि आफुहरु एकद्धार प्रणालीबाट राहत वितरणको पक्षमा रहेको सुनाइरहेका थिए । 

एकातिर एउटै वडाका ३१ जनाले ज्यान गुमाएको पीडा र अर्कोतर्फ वडाका झण्डै सतप्रतिशत प्रतिशत घर तहसनहस भएको पीडा बोकेर उनी निरन्तर राहत र उद्धारमा खटिएका छन् । 

भेरी नगरपालिका वडा नम्बर ३ मा पनि भुकम्पले ठूलो मानविय क्षति गरेको छ । यो वडामा मात्र १४ जनाले ज्यान गुमाएको वडाअध्यक्ष लिला बहादुर शाह बताउँछन् । 

एउटै कोठामा बसेका ४ जना दिदीबहिनी मध्ये ३ जनालाई भुकम्पले कोठाभित्रै पुरेको उनको भनाइ छ । एकातिर भुकम्पका कारण वडाका १४ जनाको मृत्युको शोक छ भने अर्कोतर्फ बचेका मान्छेहरुले लत्ताकपडा र खाद्यान्नसमेत निकाल्न नपाएको पीडा छ । रातभर विना कपडा उनीहरुले रात विताएको वडाध्यक्ष शाह सुनाउँछन् । 

नगरक्षेत्रमा पर्ने यो वडाका ८० प्रतिशत कम्ची घरहरु सवै भत्किएका छन् भने ३ तलासम्मका घर भग्नावशेष बनेको उनको भनाइ छ । 

‘अधिकांशको घर लडेको छ, सामान, लत्ताकपडा सबै पुरिएका छन्, अहिले उद्धारमै छौँ । अब विस्तारै पुरिएका सामान निकाल्न सकिन्छ कि भनेर लागेका छौँ, वडाध्यक्ष शाहले वडापालिकासँग भने । 

शनिवार बेलुका घरवारबिहीन भएकाहरुलाई विपत व्यवस्थापन समितिले त्रिपाल र कम्मल वितरण गरेपनि यो पर्याप्त नभएको उनको भनाइ छ । राहत र उद्धारमा खटिनुपर्दा आफ्नो वडामा कतिजना घाइते भए भन्ने तत्थ्यांकसमेत जनप्रतिनिधिले निकाल्न भ्याएका छैनन् ।

‘एउटै एम्बुलेन्समा ३ जनासम्म घाइतेलाई उपचारका लागि पठायौँ, कति घाइते भए भन्ने तथ्यांक निकाल्ने भ्याएको छैन’, अध्यक्ष शाह भन्छन् । 

उनी उद्धारका लागि विभिन्न व्यक्ति र संस्थाले पहल गरिरहेपनि एकद्धार प्रणालीबाट मात्र यस्तो राहत लिने पक्षमा छन् । यसका लागि पालिकास्तरीय विपत व्यवस्थापन समितिमा छलफल गरेर मात्र राहत वितरणका कामलाई प्रभावकारी रुपमा अघि वढाउने पक्षमा उनी छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update