Odapalika - The Fourth Estate - चौथो अंग
भुकम्पपीडितलाई धमाधम सहयोग गर्दै स्थानीय सरकार, पोखराले दियो ५० लाख 

काठमाडौँ । पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ बराबरको सहायता घोषणा गरेको छ । महानगरका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि यस्तो घोषणा गरेका छन् । 

‘जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा भूकम्पका कारण ठुलो जनधनको क्षति पुगेको छ, यो दुःख केवल पीडित र प्रभावित क्षेत्रको मात्र रहेन, यो विपद्ले हामीलाई पनि मर्माहत बनाएको छ, यस घडीमा पोखरा महानगरपालिकाको तर्फबाट राहत, उद्धार र प्रभावितहरूको पुनस्र्थापनाका लागि ५० लाख बराबरको सहायता घोषणा गर्दछु,’ मेयर आचार्यले भने ।

सहायता रकम महानगरका नगरप्रमुख, उपप्रमुख लगायत वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी व्यवस्थापन गरिने छ । साथै महानगरका नगर सभा सदस्य तथा कर्मचारीहरूले स्वैच्छिक सहयोग उपलब्ध गराउन सक्नेछन् भने, अपुग रकम महानगरपालिकाको विपद्कोबाट व्यवस्थापन गरिनेछ । 

पहिलो चरणको सहायता सामाग्री बोकेको ट्रक सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगर प्रहरीको उद्धार टोली शनिवार नै जाजरकोट प्रस्थान गरिसकेको छ । 

बाँकेको खजुरा गाउँपालिकाले पनि स्वास्थ्यकर्मीसहित २ लाख रुपैयाँवरावरको औषधि जाजरकोट पठाएको जनाएको छ । नेपालगंज उपमहानगरपालिकाले पनि एम्बुलेन्स र औषधिसहितका सामग्री जाजरकोट पठाइसकेको जनाएको छ । 

डोल्पाको ठूलीभेरी नगरपालिकाले ५ लाख रुपैयाँसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नगरप्रमुख श्रवणकुमार बुढाले भूकम्प पीडितलाई नगद र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाएको जानकारी दिए  ।  स्थलगत उद्धारमा समेत सहभागी वुढाले विपद् परेको बेला हरेक स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो तर्फबाट सकेसम्मको हातेमालो गरेर पीडित नागरिकलाई सान्त्वना दिन आवश्यक रहेको बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update