
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरुले आइतबार घिसिङलाई कार्यालय प्रवेशमा नै रोक लगाएका हुन्् ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ कात्तिक १४ गतेदेखि आन्दोलनमा छन् । आइतबार, सोमबार र मंगलबार तीन दिन प्राधिकरणका कार्यकारी निर्देशक, उप–कार्यकारी निर्देशकलगायत प्रादेशिक कार्यालय प्रमुखलाई कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय कर्मचारीको छ ।
कात्तिक १९ गते ११ः१५ बजेदेखि १२ः१५ बजेसम्म, कात्तिक २० गते ११ः१५ बजेदेखि १२ः४५ बजेसम्म र कात्तिक २१ गते ११ः१५ बजेदेखि १ः१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गर्ने कर्मचारीहरुले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा उल्लेख छ ।
कर्मचारीहरुले विद्युत विधेयक, २०८० खारेजी, हाजिरी, जीवन बीमा, ज्यालादारी कर्मचारी ज्याला लगायतका मागहरु राखेका छन् । माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने कर्मचारी संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ ।