Odapalika - The Fourth Estate - चौथो अंग
एनआरएनए फुट्दा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई फाइदा !

काठमाडौँ । गैरआवाशीय नेपाली संघ (एनआरएनए) भित्रको विवादले जाजरकोटका भूकम्प पीडितलाई फाइदा भएको छ । निर्वाचित अध्यक्ष डा. बद्री केसी र सो निर्वाचनमा धाधली भएको आरोप लगाउँदै अध्यक्ष घोषणा गरिएका आरके शर्मा पक्षले राहतमा प्रतिस्पर्धा गरेपछि भूकम्प पीडितलाई फाइदा भएको हो ।

कात्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निचुटको भूकम्प गएको थियो । सो भूकम्पमा परी ठूलो मात्रामा जनधनको क्षति भएको थियो । भूकम्पको कारण आइपरेको मानवीय संकटमा राहत दिन एनआरएनएका दुबै पक्षले प्रतिस्पर्धा गरेका छन् । 

निर्वाचित अध्यक्ष डा. बद्री केसी पक्षले बैठक बसेर १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघको तर्फबाट  तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको डा. केसी पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘अन्तर्राष्ट्रिय समन्वय परिषद्को आजको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर आजै प्रभावित स्थानमा जाने निर्णय भएको छ । अध्यक्ष डा बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरि पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रतिपरिवार १० हजार रुपैयाँका दरले खाद्यन्न तथा लत्ताकपडा वितरण गरिनेछ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राहत वितरण समितिमा अध्यक्ष डा. केसीसहित  महिला उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज कुमार श्रेष्ठ (गोर्खाली), सहकोषाध्यक्ष अभिमन्यु बस्नेत र कृष्णप्रसाद तिमल्सिना, एनसीसी बेल्जियमकी महासचिव रुबिना शर्मा, पूर्व आइसीसी सदस्य धर्मराज गिरि, लोकराज शर्मा (डेनमार्क) विक्रम केसी (रसिया), सीता खतिवडा लगायत रहेका छन् । यस्तै, कोषध्यक्ष सुदन थापाको संयोजकत्वमा सह कोषाध्यक्षहरु कृष्ण प्रसाद  तिमल्सिना, अभिमन्यू बस्नेत, तिलक प्रसाद गैरे र अमृता थापा (कञ्चन) रहने गरि राहत कोष संकलन समिति गठन गरिएको छ ।  

साथै संघका राष्ट्रिय समन्वय परिषद्लाई समेत राहत कार्यमा परिचालन गर्न उपाध्यक्ष तथा क्षेत्रीय संयोजकहरुलाई जिम्मेवारी तोकिएको छ । एसिया क्षेत्रको संयोजनको लागि रोबिन शेरचन र हरि भट्टराई, अमेरिका क्षेत्रमा महासचिव गौरीराज जोशी, डा केशव पौडेल र वेदराज बस्नेत, अफ्रिका क्षेत्रमा रामशरण सिंखडा र पुष्पराज भट्टराई,  यूरोप क्षेत्रमा डा हेमराज शर्मा र डा चिरञ्जीवी खड्का, ओसियाना क्षेत्रमा डा विनोद श्रेष्ठ र दिनेश पोखरेल,  मध्यपूर्व क्षेत्रमा राज रेग्मी र राजेन्द्रकुमार अर्याल, युवा तथा महिला परिचालनका लागि रोशन थापा, सुपेन्द्र घिसिङ, रोजिना प्रधान राई, टिका गुरुङ र अनुजा प्रधानलाई जिम्मेवारी तोकिएको हो ।   

संघको स्वास्थ्य समितिलाई परिचालन गरि नेपाल मेडिकल एशोसिएसनसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भएको छ । चीन, हङकङ लगायतका राष्ट्रिय समन्वय परिषद्बाट राहतका सामाग्री तथा आर्थिक सहयोगका  लागि सक्रियतापूर्वक काम सुरु भइसकेको छ ।  

संघले २४ घण्टे हटलाइन सेवा समेत सुरु गरेको छ । थप सहयोगका लागि संघको सहायक निर्देशक बन्दना शर्मालाई सम्पर्क व्यक्तिको रुपमा तोकिएको छ ।  

साथै, भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा मानवीय सहयोग कार्यमा सहयोग गर्नको लागि संघको तलको खातामा यथाशिघ्र सक्दो आर्थिक सहयोग गरिदिई सहयोग गरिदिन हुन सबैमा हार्दिक अनुरोध गरिएको छ ।

आरके शर्मा पक्षको १० करोडको राहत कोष

यस्तै, गत निर्वाचनमा डा. केसी पक्षले धाधली गरेर निर्वाचन जितेको भन्दै असन्तुष्ट बनेको समुहले आरके शर्मालाई अध्यक्ष घोषणा गरेर समानान्तर कमिटी बनाएको थियो । शर्मा अध्यक्ष रहेको एनआरएनएले पनि भूकम्प पीडितको लागि राहत घोषणा गरेको छ । यद्यपि, यस्तो कोष आगामी २ वर्षभित्र बनाइसक्ने भनिएको छ ।

‘गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्माले आउँदो दुइ वर्षभित्र १० करोड रुपैयाँको आपतकालीन राहत तथा उद्धार  कोष बनाउने घोषणा गरेका छन्।  उनले  आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि गरेका छन्,’ शर्माको इमेल ठेगानाबाट आएको विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीहरुलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै एक करोड रुपियाँ बराबरको सहयोग जम्मा भएको पनि शर्माले जानकारी दिएका छन् । 

जूम माध्यमद्वारा आयोजित बैठकमा बोल्दै  अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसार भरिका नेपालीहरुले दिल खोलेर सहयोग गरेको स्मरण गरे।  उनले तीनै तहका सरकारसंग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडित नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सक्दो सहयोग गर्न आफुहरुले काम गर्ने बताए।

उक्त कोषका लागि महासचिव बुद्धीसागर सुवेदीले १९ लाख रुपैयाँ, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले १७ लाख, पूर्वअध्यक्ष कुल आचार्यले ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख रुपियाँ, उपाध्यक्ष  गोविन्द श्रेष्ठ ‘रोविन्’ले ३ लाख, कृष्ण जीवी पन्थले २ लाख १११   सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।  त्यस्तै उपाध्यक्ष डा केशव  पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव  दयानिधि सापकोटाले जनही एक लाख रुपियाँ प्रदान गर्ने जनाए। 

एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबारसम्ममा बैंक खाता खोली सबै साथीहरुलाई जानकारी गराउने बताए।  

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update