Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्प प्रभावितलाई भरतपुर महानगरले एक करोड सहयोग गर्ने

चितवन । भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने  निर्णय गरेको छ । आइतबार बसेको ८७औँ कार्यपालिका बैठकले सो निर्णय गरेको हो । 

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माण लगायतका कार्यमा सहयोग पु¥याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिईन । 

उक्त सहयोग रकम जनप्रतिनिधिको एक महिनाको, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको, मावि शिक्षकको तीन दिनको, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको उनले बताईन । 

प्रमुख दाहालका अनुसार भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि सम्पूर्ण भरतपुरवासीलाई आह्वान गरिएको छ । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ । 

भूकम्पको केन्द्रबिन्दु आसपास रहेका जाजरकोट, रुकुमलगायतका जिल्लाका धेरै कच्ची घर भत्किएका छन् भने मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक संरचनामा क्षति पुगेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update