Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्प पीडितको राहत र उद्धारमा कुन स्थानीय तहले कति गरे सहयोग ?

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा शुत्रबार राति आएको भूकम्पबाट प्रभावित भएका स्थानीयका लागि राहत र उद्दारका लागि सहयोग रकम आउने क्रम बढ्दो क्रममा छ । 

उक्त भूकम्पमा परेका स्थानीयको उद्दार, राहत वितरण तथा पुनस्थापनाका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुन थालिसकेको छ । 

यसरी रकम सहयोग गर्नेहरुमा स्थानीय तहहरु पनि छन् ।

हालसम्म विभिन्न स्थानीय तहले राहत तथा उद्दारका लागि सहयोगको घोषणा गरिसकेका छन् । हालसम्म भरतपुर महानगरले १ करोड, पोखरा महानगरले ५० लाख, गोदावरी नगरपालिकाले २५ लाख रुपैयाँ बराबरको राहत दिने निर्णय नै गरिसकेका छन् भने अन्य स्थानीय तहले समेत राहत उपलब्ध गराउने निर्णय गरिसकेका छन् । 

गत शुक्रबार राति ११ बजेर ४७ मिनेट जादा जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पमा परी १५७ जनाको ज्यान गएको छ भने धेरै घरहरु भत्किएका छन् । यस्तै, भूकम्पमा परी धेरै जना घाइते भएका छन् । 

राहत, उद्धार र पुनस्थापनको लागि अहिले देशभरबाट राहत प्रदान गर्ने कार्य भइरहेको छ ।

भरतपुरले १ करोड दिने

भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने  निर्णय गरेको छ । आइतबार बसेको ८७औँ कार्यपालिका बैठकले सो निर्णय गरेको हो । 

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माण लगायतका कार्यमा सहयोग पु¥याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । 

उक्त सहयोग रकम जनप्रतिनिधिको एक महिनाको, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको, मावि शिक्षकको तीन दिनको, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको उनले बताइन् ।

प्रमुख दाहालका अनुसार भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि सम्पूर्ण भरतपुरवासीलाई आह्वान गरिएको छ । 

भूकम्पको केन्द्रबिन्दु आसपास रहेका जाजरकोट, रुकुमलगायतका जिल्लाका धेरै कच्ची घर भत्किएका छन् भने मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक संरचनामा क्षति पुगेको छ ।

पोखराले ५० लाख दिने

पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ बराबरको सहायता घोषणा गरेको छ । महानगरका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि यस्तो घोषणा गरेका छन् । 

‘जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा भूकम्पका कारण ठुलो जनधनको क्षति पुगेको छ, यो दुःख केवल पीडित र प्रभावित क्षेत्रको मात्र रहेन, यो विपद्ले हामीलाई पनि मर्माहत बनाएको छ । यस घडीमा पोखरा महानगरपालिकाको तर्फबाट राहत, उद्धार र प्रभावितहरूको पुनस्थापनका लागि ५० लाख बराबरको सहायता घोषणा गर्दछु,’ मेयर आचार्यले भने ।

सहायता रकम महानगरका नगरप्रमुख, उपप्रमुख लगायत वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी व्यवस्थापन गरिने छ । साथै महानगरका नगर सभा सदस्य तथा कर्मचारीहरूले स्वैच्छिक सहयोग उपलब्ध गराउन सक्नेछन् भने, अपुग रकम महानगरपालिकाको विपद्कोबाट व्यवस्थापन गरिनेछ । 

गोदावरीले २५ लाख दिने

ललितपुरको गोदावरी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितको राहत, उद्धार र पुनस्थापनाको लागि २५ लाख रुपैयाँ दिने भएको छ ।

नगरपालिकाको आजको बैठकले यस्तो निर्णय गरेको मेयर गजेन्द्र महर्जनले जानकारी दिए । सो रकम केन्द्रीय राहत कोषमा जम्मा गरिने उनले जानकारी दिए ।

‘भूकम्पपछिको राहत, उद्धार र पुनस्थापनाका लागि २५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेका छौं । यो रकम केन्द्रीय राहत कोषमा जम्मा गरिनेछ,’ मेयर महर्जनले वडापालिकासँग भने ।

अन्य स्थानीय तहको पनि सहयोग

बाँकेको खजुरा गाउँपालिकाले पनि स्वास्थ्यकर्मीसहित २ लाख रुपैयाँवरावरको औषधि जाजरकोट पठाएको जनाएको छ । नेपालगंज उपमहानगरपालिकाले पनि एम्बुलेन्स र औषधिसहितका सामग्री जाजरकोट पठाइसकेको जनाएको छ । 

डोल्पाको ठूलीभेरी नगरपालिकाले ५ लाख रुपैयाँसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नगरप्रमुख श्रवणकुमार बुढाले भूकम्प पीडितलाई नगद र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाएको जानकारी दिए  ।  स्थलगत उद्धारमा समेत सहभागी वुढाले विपद् परेको बेला हरेक स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो तर्फबाट सकेसम्मको हातेमालो गरेर पीडित नागरिकलाई सान्त्वना दिन आवश्यक रहेको बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update