Odapalika - The Fourth Estate - चौथो अंग
आठबीसकोट नगरपालिकाका भूकम्पपीडितले पाए किरिया खर्च र राहत

काठमाडौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका भूकम्पपीडित परिवारले राहत सामग्री पाएका छन् । 

नगरपालिकाले आइतवार भूकम्प प्रभावित क्षेत्रको विभिन्न ठाउँमा राहत सामग्री वितरण गरेको हो । मृत्यु भएका २० घरपरिवार र अन्य पूर्णरूपमा क्षति भएका  ५० घरधुरीलाई नगरपालिकाले खाद्यान्न सामग्रीसँगै बस्नको लागि टेन्ट, त्रिपाल वितरण गरेको आठबीसकोट नगरपालिकाले जनाएको छ । 

मृतक प्रत्येक घरपरिवारलाई दुई बोरा चामल, पाँच किलो दाल, पाँच लिटर तेल, चाउचाउ  बस्नको लागि टेन्ट उपलब्ध गराएको हो । अन्य पूर्णरुपमा घर क्षति भएका ५० घर परिवालाई दाल, चामल, नुन, तेल र त्रिपाल वितरण गरिएको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिए ।

उनकाअनुसार मृतक परिवारलाइृ प्रतिपरिवार २५ हजार रुपैयाँका दरले किरिया खर्च उपलव्ध गराइएको छ । नगरपालिकाको  प्रभावित क्षेत्रमा पुगेर आज ७० बोरा चामल, दुई क्वीन्टल दाल, नुन, तेल लगायत विभिन्न खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ ।

नगरपालिकाको ९, १० र १२ नम्बर वडाका केही ठाउँमा पीडितलाई राहत वितरण गर्न  बाँकी रहेको छ । नगरपालिकामा विभिन्न सङ्घ संस्थाबाट खाद्यान्न तथा राहत सामग्री आउने क्रम जारी छ  । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update