Odapalika - The Fourth Estate - चौथो अंग
कम मानवीय र भाैतिक क्षति व्यहोरेको छेडागाड नगरपालिकाको यस्तो छ राहत प्याकेज 

काठमाडौँ । शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले जाजरकोटको छेडागाड नगरपालिकामा सबैभन्दा कम मानवीय क्षति गरेको छ । 

पालिका भित्र २ जनाले ज्यान गुमाउँदा ४ जना घाइते भएको उपमेयर चन्द्रबहादुर थापाले जानकारी दिए । उनकाअनुसार भुकम्पमा परेर वडा नम्बर १० की जया अधिकारी र वडा नम्बर १३ की १६ वर्षीया एकता खड्काले ज्यान गुमाएका छन् । 

घाइते ४ मध्ये १ जनाको कोहलपुर मेडिकल कजेजमा, १ जनाको प्रदेश अस्पताल बीरन्द्रनगरमा र २ जना घाइते वालकको स्थानीय छेडागाड आधारभूत अस्पतालमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतले १ दिन बरावरको पारिश्रमिक र सुविधा स्थानीय तह प्रकोप व्यवस्थापन समितिको खातामा जम्मा गर्ने निर्णय पालिकाले गरेको छ । 

पालिकाले मृत्यु भएका परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँका दरले किरिया खर्च र घाइतेको उपचारका लागि २० हजार रुपैयाँसम्म उपचार खर्च दिने निर्णय गरेको छ । 

भुकम्पले गरेको क्षतिको मूल्यांकन गर्न १३ सदस्यीय पालिकास्तरीय विपत क्षति मुल्यांकन समिति बनाएको पालिकाले ३१८ घर परिवार भुकम्पबाट विस्थापित भएको जनाएको छ । 

भुकम्पले पालिकाभित्रका ८० प्रतिशत घरमा आंशिक क्षति गरेको पालिकाले जनाएको छ । पालिकाले पीडित परिवारलाई एकद्धार प्रणालीबाट मात्र राहत वितरण गर्ने निर्णयसमेत गरेको उपमेयर थापाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update