Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्प पीडितलाई बैँक-बित्तीय संस्थाकाे सहयाेग, कुन बैँककाे कति ? 

काठमाडौंँ । भूकम्पपीडितका लागि बैंक तथा वित्तीय संस्थाले पनि सहयोग घोषणा गरिरहेका छन् । सोमबार दिउँसोसम्म राहतको घोषणा गर्ने बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा धेरै सहयोग आइएमई ग्रुपले गरेको छ ।

ग्रुुप अन्तरगत सञ्चालित बैंक तथा वित्तीय क्षेत्र तथा इन्योरेन्स कम्पनीले डेढ करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरिसकेको छ । 

यस्तै, नबिल बैंकले एक करोड, एनआइसी एसिया बैंकले ५१ लाख, प्राइम र सिटिजन्स बैंकले २५÷२५ लाख रुपैयाँ बराबर सहयोग गर्ने घोषणा गरिसकेका छन्। 

यस्तैगरी, बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले १० लाख सहयोग गर्ने घोषणा गरिसकेको छ । आईएमई लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्प प्रभावितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको जनाएको छ । 

ग्लोबल आइएमई बैंकले डेढ करोड दिने

आइएमई ग्रुुपले भूकम्प प्रभावितलाई राहत तथा उद्दारका लागि डेढ करोड रुपैयाँ बराबर सहयोग गर्ने घोषणा गरेको छ । ग्रुप अन्तरगत रहेको ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपद्धारा प्रवद्र्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख रुपियाँ नगद सहयोग रकम प्रदान गर्ने जनाएको हो । 

प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिन लागिएको ग्रुपले जनाएको छ ।

नबिल बैंकले एक करोड दिने

नबिल बैंकले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराउन एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो ।

जिल्ला विपद् व्यवस्थापन समिती जाजरकोटद्वारा संचालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुबेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाका अनुसार बैंकले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, औषधी लगायतका एक करोड बराबरको राहत सामाग्री उपलब्ध गराउने भएको छ ।

एनआईसी एशिया बैंकले ५१ लाख दिने

एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने घोषणा गरेको छ । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख रुपैयाँ सहयोगको घोषणा गरेको हो ।

‘शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको हो । यस विनासकारी भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा यस बैंक परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ’, बैंकले विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्राइम बैंकले २५ लाख ५१ हजार दिने

प्राइम कमर्सियल बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंकले विज्ञप्ति जारी गर्दै विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति बेहोर्नु परेको अकल्पनीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आर्थिक सहयोग घोषणा गरेको हो ।

कम्पनी सचिव राजकुमार कार्कीले जारी गरेको विज्ञप्तिमा तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार आर्थिक सहयोग उपलब्ध गराउने जनाइएको छ ।

सिटिजन्सले २५ लाख दिने

सटिजन्स बैंकले भुकम्प पिडितको लागि २५ लाख रुपैयाँ दिने भएको छ । सिटिजन्स बैँकले कर्णाली प्रदेशको जाजरकोटमा शुक्रबार गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हाद्र्घिक समवेदना व्यक्त गर्दै घाईतेहरुको स्वस्थ लाभका लागि कामना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पु¥याउदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update