Odapalika - The Fourth Estate - चौथो अंग
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गरेका छन् । उनले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताए । 

नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न सम्मेलनमा उपस्थित दुई दर्जन बढी देशका व्यवसायीलाई डा. महतले आग्रह गरे । नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने उनको भनाई छ । 

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनलाई सम्बोधन गर्दै भूकम्प र कोरोना महामारीबाट उठ्दै गरेको नेपाललाई यस किसिमको भेलाले सहयोग पुग्ने उनले बताए । 

‘नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल रहेको छ जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्’, उनले भने । 

उनले भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता गरेको भन्दै लगानीका लागि जलविद्युत् उपयुक्त क्षेत्र भएको बताए । बंगलादेशले पनि विद्युत खरिद गर्न चासो देखाइरहेको अवस्थामा जलविद्युतमा गरिने लगानीमा प्रतिफल सुनिश्चित गरेको महतको भनाई थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update