Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहमार्फत भुकम्पपीडितलाई राहत, अब वडाबाटै बितरण

काठमाडौँ ।  सरकारले जाजरकोट भुकम्पबाट पीडित भएकाहरुलाई सम्वन्धित स्थानीय तहमार्फत मात्रै राहत वितरण गर्ने भएको छ । 

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले, राहत वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिइएको बताएका छन् । 

जाजरकोट सदरमुकाम खलंगालगायतका क्षेत्रको स्थलगत निरीक्षणपछि उनले पालिकालाई राहत सामग्री उपलब्ध गराइने र वडामार्फत वितरण गरिने बताए । 

‘सरकारले राहत वितरण सुरु गरिसकेको छ । राहत सामग्री पालिकालाई जिम्मा लगाउने र वडामार्फत वितरण हुन्छ, यस घडीमा सबैले मिलेर राहत वितरण र अनुगमनमा सहयोग गर्नुपर्छ,’ उनले भने ।

उनले उद्धार तथा राहत वितरणबारे जानकारी लिनुका साथै राहत वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् । 

उनले भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटका स्थानीयसँग कुरा गर्दै उद्धार सकिएको र अब सरकारले सम्पूर्ण शक्ति राहत वितरण र पुनःनिर्माणमा लगाउने बताए ।

उनले बारेकोट गाउँपालिकामा २ हजार ५०० परिवार घरमा बस्न नसक्ने अवस्थामा रहेको तथ्यांक आफूले प्राप्त गरिसकेको भन्दै प्राथमिकताका साथ राहत वितरण हुनेमा विश्वास व्यक्त गरेको छन् । 

केही राहत सामग्री आइसकेको र थप राहत सामग्री आउने क्रममा रहेको जानकारी दिदैँ उनले वडाअध्यक्ष, वडा सदस्य र राजनीतिक दलको समन्वयमा राहत वितरणलाई प्रभावकारी र निष्पक्ष बनाइने बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update