Odapalika - The Fourth Estate - चौथो अंग
भुकम्पपीडितलाई २५ लाख दिने निर्णय गराएर चीन हानिदै माधव नेपाल 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । 

केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम संकलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने पार्र्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए  । उनका अनुसार केन्द्रीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, जनप्रतिनिधि एवं राजनीतिक नियुक्ति भएका व्यक्तिबाट १५ दिन बराबरको पारिश्रमिक पार्टीको राहत उपचार कोषमा जम्मा गर्नुपर्ने छ ।

भूकम्म प्रभावित क्षेत्रको राहत र उद्धार कार्य व्यवस्थापन, आवश्यक सहयोग तथा अनुगमन गर्नका लागि पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहने गरी एक कार्यदल गठन गरेको छ । 

कार्यदलमा सांसद अमरबहादुर थापा, नन्दा चपाँई र धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्कालगायत रुकुमपश्चिम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षसहितको टोली रहने प्रवक्ता खतिवडाले जानकारी दिए ।

नेकपा एसले पार्टीको महाधिवेशन आगामी माघमा गर्ने निर्णय पनि गरेको छ । पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको १५ जनाको टोली मंगलबार चीन भ्रमणमा जाने जनाउँदै प्रवक्ता खतिवडाले उक्त भ्रमणले दुई देशको कम्युनिष्ट पार्टीबीच घनिष्ठ सम्बन्ध विकास गर्ने दाबी पनि गरे ।   
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update