Odapalika - The Fourth Estate - चौथो अंग
जाजरकोट भूकम्प : मृतकका परिवारलाई राष्ट्रिय बीमा कम्पनीले ३ करोड दिने

काठमाडौँ । गत कात्तिक १७ गते रातिको जाजरकोट भूकम्पमा परी ज्यान गुमाउनेका परिवारले प्रतिमृतक २ लाख रुपैयाँका दरले रकम पाउने भएका छन् ।

कर्णाली प्रदेश सरकारले सबै नागरिकको बीमा गरिदिएका कारण यस्तो रकम पाउने अवस्था सिर्जना भएको हो । कर्णाली प्रदेशका सबै नागरिकको २ लाख रुपैयाँ बराबरको बीमा भएकोले प्रतिमृतक २ लाख रुपैयाँका दरले बीमा रकम दिन लागिएको राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले जानकारी दिए ।

‘प्रतिमृतक २ लाख रुपैयाँका दरले मृतकका परिवारलाई रकम उपलब्ध गराउने गरी बीमा भएको छ । भूकम्पमा परी ज्यान गुमाउनेका परिवारले पनि यस्तो बीमा रकम पाउँछन् । आवश्यक कागजात प्राप्त भएको २४ घण्टाभित्रमा नै बीमा रकम उपलब्ध गराउने गरी तयारी अवस्थामा बसेका छौं,’ प्रमुख कार्यकारी अधिकृत बरालले वडापालिकासँग भने ।

गृहमन्त्रालयले दिएको तथ्यांक अनुसार सो भूकम्पमा परी १५७ जनाको मृत्यू भएको छ । मृतकका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले बीमा रकम उपलब्ध गराउँदा करिब ३ करोड रुपैयाँ खर्च हुनेछ ।

बीमा रकम उपलब्ध गराउन कम्पनीले आवश्यक तयारी गरिसकेको छ । स्थानीय सरकार वा कर्णाली प्रदेश सरकारको सिफारिसका आधारमा तत्काल रकम उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत बरालले जानकारी दिए ।

‘मृतकको पहिचान खुल्ने लगायतका आवश्यक कागजात स्थानीय तह वा कर्णाली प्रदेश सरकारले उपलब्ध गराउन सक्ने व्यवस्था छ । सो व्यवस्था अनुसार कागजात प्राप्त भएपछि हामी २४ घण्टाभित्र रकम उपलब्ध गराउँछौं,’ प्रमुख कार्यकारी अधिकृत बरालले भने ।

उनले बीमा दाबी भुक्तानी रकम काठमाडौँ र सुर्खेतमध्ये पायक पर्ने ठाउँबाट भुक्तानी लिन सकिने बताए । दाबी रकम पाउने व्यक्तिको बैंक खाता भएमा खातामै जम्मा गरिदिने व्यवस्था मिलाइएको पनि जानकारी दिए । 

यद्यपि, घर बीमा वा अन्य सम्पत्तीको बीमा नभएका कारण घर तथा अन्य सम्पत्तीको क्षतिको भने रकम नपाउने बताए । घर बीमा गर्नको लागि १ लाख रुपैयाँको १०० रुपैयाँका दरले बीमाशुल्क तिर्नुपर्ने हुन्छ । अर्थात वार्षिक ५ सय रुपैयाँ तिरेको भए घर भत्किएका परिवारले ५ लाख रुपैयाँ बीमा कम्पनीबाट पाउथे । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update