Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको बजार अनुगमन तिब्र, ४ महिनामा ७ कम्पनी कारवाहीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुचित व्यापारिक क्रियाकलापमा संलग्न ७ वटा कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको बताएको छ । 

पछिल्लो ४ महिनायता महानगरको अनुगमनका क्रममा यस्ता व्यापारिक फर्म र विक्रेतालाई गरिएको जरिमानाबापतमात्र ९ लाख ६० हजार रुपैयाँ राजश्व संकलन भएको जनाएको हो । 

सोमवार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजकसमेत रहेकी उपप्रमुख सुनिता डंगोलले डाकेको बैठकमा महानगरको  कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाले सो तथ्यांक प्रस्तुत गरेका छन् । 

झाका अनुसार त्रिकोण वेभरेज इन्डष्ट्री बालाजुलाई शिलबन्दी पानीमा कीरा र लेउ भेटिएपछि १ लाख रुपैयाँ जरिमाना गरिएको छ भने कालिञ्चोक ट्रेडिङ् नेपाल पुतली सडकलाई पेय पदार्थमा ढुसी भेटिएपछि १ लाख ५० हजार जरिमाना गराइएको छ । 

टिपटप समोसा पसललाई विग्रिएको दुधवरी विक्री गरेको अवस्थामा पाइएपछि २ लाख रुपैयाँ, बरुण वेभरेजलाई पेय पदार्थमा अखाद्य बस्तु भेट्टाएपछि २ लाख रुपैयाँ जरिमाना तिराइएको उनको भनाइ छ । 

भीम स्टोरलाई म्याद सकिएका मदिरा (वियर) नाइट क्लवमा आपूर्ति गरेकोले २ लाख रुपैयाँ, भृकुटीमण्डपको पीजी खाजा घरलाई समोसामा साङ्ला भेटिएपछि १० हजार रुपैयाँ र वुढानिलकण्ठको पशुपति स्प्रिङ वाटरलाई खानेपानीमा कीरा र लार्भा भेटिएकोले १ लाख रुपैयाँ जरिमाना गरिएको उनले जानकारी दिए । 

महानगरको अनुगमन टोलीले साउनयता ४३ दिन बजार अनुगमन गरेको छ । यसमा १६५ वटा स्थानको अनुगमन भएको समितिको भनाइ छ । अनुगमन समितिको बैठकमा अनुगमन प्रगतिका विषयमा जानकारी गराउँदै अनुगमन टोलीका सम्पर्क व्यक्ति पुष्कर खड्कालेसाउनमा मिठाइ पसलको, भदौमा पानी र जारको, असोजमा दसैँ लक्षित खाद्य तथा पेय पदार्थको र कार्तिकमा खसी बजार र खाद्य पदार्थको अनुगमन गरिएको जानकारी दिए ।

बैठकमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निरीक्षण अधिकृत दिपेन्द्र रेग्मीले, साउन यता देशभरमा ५१० वटा टोलीले १ हजार ७४७ वटा अनुगमन गरेको जानकारी दिँदै यसबाट ४७१ बाट कागजपत्र माग गरेको, ४६ वटा फर्मबाट १ करोड ३७ लाख मुल्य बराबरका बस्तु तथा सामान नष्ट गरिएको, अनुचित क्रियाकलाप गर्नेलाई जमिााना गर्दा १ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।

बैठकमा तिहारमा प्रयोग गरिने भाइ मसला, मिठाइ, फलफुल, जुसजस्ता खाद्य बस्तुमा हुन सक्ने मिसावट तथा अनुचित लाभ रोक्ने विषयमा छलफल भएको उपप्रमुख डंगोलले बताइन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update