
गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण थालेको छ ।
गर्भवती र गर्भमा रहेका शिशुको पोषणमा कमी हुन नदिन ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले बताए ।
‘पोषिलो खानेकुराको अभावमा गर्भवती र गर्भमा रहेको शिशुको शारीरिक तथा मानसिक वृद्धिविकासमा असर नपरोस भनेर सुत्केरी हुनु अगावैबाट पोषिलो खानेकुरा दिने अभियान थालेका हों,’ अध्यक्ष देवकोटाले वडापालिकासँग भने ।
उनका अनुसार यो कार्यक्रम अनतर्गत स्थानीय स्तरमै तयार भएका घिउ र कुखुराको अण्डा लिएर गर्भवतीसम्म पुग्ने पालिकाको अभियानलको स्थानीयले पनि प्रसंसा गरिरहेका छन् ।
हाल पालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भ परीक्षणका आउने गर्भवतीलाई पोषिलो आहार वितरण गरिएको र भविष्यमा सुत्केरी भएकै घर सम्म पनि पुगेर सेवा दिने पालिकाको लक्ष्य छ ।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ठाकुर भट्ट पनि पालिकाले संचालन गरेको ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत गाउँमै उत्पादित लोकल भैँसीको घिउ र अन्डा गर्भवतीलाई प्रदान गर्ने गरिएको बताउँछन् ।
गर्भ परीक्षण गराउन आएको पहिलो, तेस्रो र चौथो पटकमा प्रत्येकलाई एक–एक मानाका दरले लोकल घिउ, एक–एक क्रेट अन्डा र पछ्यौरी उपलब्ध गराउने गरिएको उनको भनाइ छ ।
स्थानीयस्तरमा उत्पादन भएको घिउमा मिसावट नहुने र पोषणयुक्त हुने भएकाले गाउँपालिकाले स्थानीय उत्पादन नै खरिद गरेर गर्भवतीलाई वितरण गर्दैै भट्टको भनाइ छ ।
‘नियमित गर्भ परीक्षण गराए आमा र शिशुको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी हुने र गाउँपालिकाबाट पोषण सामग्री पनि पाउने भएपछि नियमित गर्भ परीक्षण गराउनुपर्छ भन्ने सोचको विकास पनि हुँदै गएको छ,’ अभियानको प्रभाववारे जानकार िदिदै उनले भने ।
अधिकांश स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषिलो खानेकुरा उपलव्ध गराउँदै आएका छन् ।