Odapalika - The Fourth Estate - चौथो अंग
राय लिन स्थानीय तह पुग्यो योजना आयोग, ४ प्रदेशका विभिन्न पालिकामा छलफल 

काठमाडौं । १६औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा ४ प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदुरपश्चिममा सुझाव संकलन गर्दैछन् । 

आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा. फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । 

छलफलमा गण्डकीका मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरुको सहभागीता थियो । मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुखसहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागितामा सुझाव लिइने सदस्यले फुयाँलले जानकारी दिए । 

उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदुपश्चिम, बागमती र मधेश प्रदेशमा समेत जारी रहनेछ । ‘१६औँ योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौं’ सदस्य फुयाँलले भने, ‘हिजो सोमबार हामीले प्रदेश सरकारका मूख्यमन्त्री र मन्त्री राखेर छलफल गयौँ, आज त्यो भन्दा ठूलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख उपप्रमुखहरु निजी क्षेत्रको सहभागिता रहनेछ ।’

आयोगले मधेश प्रदेशमा डा. जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ भने वागमतीमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. फुयाँल र सुदुरपश्चिम प्रदेशमा डा. अनिता शाह ढुंगानालाई पठाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update