Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रपति पौडेलले जाजरकोट पुगेर भुकम्पबाट भएका घाइते र विस्थापित भेटे 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । 

घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । 

उनले भुकम्प प्रभावितहरूलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रवन्ध हुने र त्यसका लागि आफुले सरकारसँग कुरा गर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

राष्ट्रपतिको भनाइ उदृत गर्दै पोखरेलले भने, ‘तपाईहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु ।’

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पबाट भएको क्षतिका बारेमा जानकारी गराएका थिए भने घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए ।  

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेतबाट जाजरकोट पुगेका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलकाअनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुमपश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्दारको अवस्थाका बारेमा जानकारी लिने छन् । 

राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापतिलगायत सहभागी छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update