Odapalika - The Fourth Estate - चौथो अंग
आँधीखोलामा बन्यो ट्रस ब्रिज, ४ जिल्लाका दर्जन बढी स्थानीय तह लाभान्वित 

काठमाडाैँ । कालीगण्डकी लोकमार्गको आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि ४ जिल्लाका विभिन्न स्थानीय तहलाई सहज भएको छ । 

पुलका कारण स्याङ्जाका पश्चिम, पर्वतका दक्षिण, गुल्मी र बाग्लुङका पूर्वी भागका नागरिकलाई गल्याङ, पाल्पा, बुटवल, नारायणगढ, दाङ हुँदै भारत पुग्नसमेत सहज र छोटो बाटो खुलेको छ । 

स्थानीयहरु उच्चस्तरको स्वास्थ्य सेवा लिन, व्यापारीका लागि मालसमान ढुवानी गर्न सेतीवेणी–मिर्मी सडक खण्डमा पर्ने वनको पैदलमार्ग प्रयोग गर्दै आएका थिए । निकै पुरानो मानिएको सेतीवेणी बजार, पुर्तीघाट बजार, बाग्लुङको छिस्दीलगायत व्यापारीले २ दशकअघिसम्म भरिया लगाएर यही वनको बाटो मालसामान ढुवानी गर्थे ।

कालीगण्डकी लोकमार्गअन्तर्गत गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका जोड्ने सेतीवेणी–मिर्मी सडक खण्ड १० किलोमिटर दूरीमा पर्छ । यही सडक खण्डलाई जोड्ने गरी आँधीखोलामा ट्रस ब्रिज निर्माण भएको ठकेदार कम्पनीका इन्जिनियर पवित्रमणि आचार्यले बताए । 

९ करोड ६२ लाख ७९ हजार ९३ ठेक्का सम्झौता भएको यो पुल भर्खरे निर्माण सम्पन्न भएर सर्वसाधारणका लागि खुला गरिएको छ । 

पुल बनेपछि स्याङजा–पर्वत खण्डको सडक निर्माणलाई तिब्र बनाइएको छ । स्याङजा–पर्वतको ५३ किलोमिटरमध्ये सेतीवेणी–मिर्मी सडक चौडा, नाली निर्माण, र कालोपत्र गर्ने गरी २०७७ सालमै ठेक्का लगाइएको थियो । 

विष्फोट गरेर बाटो निर्माण गर्नुपरेकाले काममा ढिलाइ भएको र एक वर्ष समय थपेर काम अगाडि बढाएको आचार्यको भनाइ छ । मिर्मी सेतीबेनी सडककै ३ किलोमिटर सडक पनि निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update