Odapalika - The Fourth Estate - चौथो अंग
चिसो बढेसँगै बेँसी झर्न थाले ङिस्याङ गाउँपालिकाका खर्क 

काठमाडौँ । मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्यांग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि गोठालाले गोठ सार्न थालेका हुन् । 

मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्यांग्रा पाल्दै आएका सगर गुरुङले ३ हजार ६ मिटर उचाइको लेकबाट पुश झार्न थालिएको बताए । हिउँ पर्न थालेपछि बेँसीको खर्क सारिएको उनको भनाइ छ । 

मनाङ ङिस्याङ–८ जुलुमा ३७ परिवारले सामूहिकरूपमा भेडाच्यांग्रा गर्दै आएका छन् । चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु भएको उनले बताए ।  

व्यावसायिकरूपमा पशुपालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उनले बताए । गत वर्ष विभिन्न रोगले २२ चौँरी र ५५ च्यांग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन,’ उनले भने । 

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राईले भेडाच्यांग्रा, चौँरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताए । । यहाँका स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उनको भनाइ छ । 

चिसो बढेसँगै लेकका खर्क खाली हुँदै आएको छ । कात्तिक मध्यबाट घरवरपर नै गोठ राखी खुवाउने गरिन्छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update