Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्पपीडितको नाममा करोडौँ रकम संकलन, पीडितले त्रिपाल समेत पाएनन्

काठमाडौँ । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्कुलको भूकम्प गयो । भूकम्पले जाजरकोट र रुकुमकापश्चिममा ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पु¥याएको छ । 

भूकम्पबाट रुकुमपश्चिममा पनि ठूलै मानवीय क्षति भयो । हजारौँ घरहरुमा पूर्ण रुपमा क्षति पुग्यो । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१३ भल्माका ४१ वर्षीया हरिबहादुर ओलीको घर नि बस्नै नमिल्ने गरी भूकम्पले पूर्णरुपमा क्षति ग¥यो । उनको घरमा क्षति गर्नुका साथै परिवारका चार सदस्य घाइते भएका छन् । घाइते हुनेमा हरिबहादुरसहित उनकी श्रीमती र दुई छोरा छन् ।

भूकम्पले भत्काएको घरमा आफूसहित पूरै परिवार पुरिएको हरिबहादुरले सुनाए । ‘मरिन्छ कि भन्ने लागेको थियो धन्न बाचियो । स्थानीयवासीले रातिनै उद्धार नगरेको भए मेरो सबै परिवार सकिने थियो । स्थानीयवासीले तत्काल पुरिएको घरबाट निकाले अनि बाँच्न सफल भइयो’, उनले भने ।

उपचारका लागि चारै जनालाई नगर अस्पताल राडी पु¥याएको थियो । अस्पतालमा दुई दिनसम्मको उपचार गरेपछि डिस्चार्ज भएको ओलीले बताए । घर फर्किएपछि सरकारले दिएको राहतको नाममा एउटा त्रिपालबाहेक अन्य कुनै सामग्री नपाएको उनले गुनासो गरे । 

‘राहतको नाममा त्रिपाल आयो । एउटा घरमै त्रिपाल थियो । अहिले राहतको असमा त्रिपाल मुनी बसिरहेका छौँ । चिसो बढेकाले रात कटाउन निकै मुस्किल भइरहेको छ’, ओलीले भने, ‘अन्य कुनै राहत सामग्री अहिलेसम्म पाएका छैनौँ । राहतको पर्खामै छौँ । पालिकामा धेरै सामग्री आएको छ भन्ने सुन्छु । हामीले त त्रिपाल बाहेक केही आएका छैनौँ ।’ घर नजिकै पसल भएकाले उदारोमा चामल, दाल, तेल, नून लिएर खाइरहेको उनले बताए । 

‘राहत वितरण गरेको तीन दिन भइसक्यो केही अत्तोपत्तो छैन । अहिले पनि भूकम्पको त्रास गरेको छ । शुक्रबार एक्कासि भूकम्प आयो केही थाहा भएन’, ओलीले भने, ‘सुरुमा कसैले बम हानेको होकी जस्तो लाग्यो । पछि घर पुरिएर चेपिएपछि थाहा भयो, भूकम्प आएको रहेछ ।’

वडामै नौ जनाको मृत्यु भएको हुँदा आफ्नो घर पूर्णरूपमा क्षति भए पनि परिवार बाँच्न सफल भएकोमा खुसी लागेको उनले सुनाए । वडा नं १३ मा मात्रै चार सय तीस घर पूर्णरुपमा क्षति भएका वडा कार्यालयले जनाएको मा छ । 

एक सय सत्र घर आंशिक क्षति भएको र ५५ घर सामान्य क्षति भएको वडा सचिव चक्रबहादुर डिसीले जानकारी दिए । उनका अनुसार पूर्णरुपमा क्षति भएका घरपरिवारका लागि त्रिपाल मात्रै आएको र अन्य खाद्यान्न सामग्री आइनसकेको उनले बताए । 

‘आंशिक क्षति भएकाले भने त्रिपालसमेत पाएका छैनन् । पालिकाबाट राहत सामग्री आएपछि वितरण गर्ने छौँ, डिसीले भने । उनका अनुसार मृतकका परिवारले रू २५ हजार किरिया खर्चसहित खाद्यान्न सामग्री पाइसकेका छन् । 

राहत वितरणको काम भइरहे पनि सबै ठाउँमा राहत वितरण गर्न नसकिएको नगर प्रमुख रवि केसीले स्वीकार गरे । भूकम्पमा परी रुकुम पश्चिमका ५२ जनाको मृत्यु भएको थियो भने भौतिक संरचना पनि ठूलो क्षति पुगेको छ ।

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पपछि उद्धार तथा पुनस्थापर्नाका लागि करोडौं रकम संकलन भैरहेको छ । भूकम्प गएको ४ दिनमा भूकम्पपीडितका लागि करोडौं रकम संकलन भएपनि पीडितहरुले त्रिपालसमेत पाउन सकेका छैनन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update