Odapalika - The Fourth Estate - चौथो अंग
आफ्नै अनुदानमा डाक्टर, इन्जिनियर र आइटी विज्ञ उत्पादन गर्दै फुङलिङ नगरपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाले आफ्नै खर्चमा डाक्टर, इन्जिनियर र आइटी विज्ञ उत्पादन गर्ने भएको छ ।

नगरपालिकाले गत वर्षदेखि एक जना विद्यार्थीलाई छात्राबृत्ति दिएर एमविविएस (डाक्टर) पढाइरहेको छ । चालु आर्थिक वर्षदेखि हाइड्रो प्राविधिक (इन्जिनियर) र आइटी विज्ञ अध्ययनमा पनि छात्राबृत्ति दिन लागिएको मेयर अमिर मादेनले जानकारी दिए ।

‘गत आर्थिक वर्षमा हामीले अनुदान दिएर एक जनाले एमविविएस अध्ययन गरिरहेका छन् । चालु आर्थिक वर्षको बजेट मार्फत पशु डाक्टर, हाइड्रो प्राविधिक र आइटी विज्ञ अध्ययनको लागि छात्राबृत्तिको व्यवस्था गरिएको छ,’ मेयर मादेनले वडापालिकासँग भने ।

यसका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गरेको छ । नगरपालिकाले तोकिएका विषय अध्ययन गर्नको लागि कलेजले लिने शुल्कमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।

गत वर्षदेखि एक जना विद्यार्थीले एमविविएस अध्ययन गरिरहेका छन् । यस्तो अध्ययनको लागि १५ लाख रुपैयाँ छात्राबृत्ति दिने मेयर मादेनले बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमार्फत पशु चिकित्सा अध्ययनको लागि १ जनालाई छात्राबृत्ति दिने कार्यक्रम तय गरेको छ । यस्तै, ६ जना हाइड्रो प्राविधिक र १ जना आइटीको अध्ययन गराउन छात्राबृत्ति दिन लागिएको छ । आइटी अध्ययनको लागि भने दलित विद्यार्थी नै हुनुपर्ने शर्त राखिएको मेयर मादेनले जानकारी दिए ।

‘आइटी कोटा चाही दलितको लागि हो, अन्य विषय भने सबैका लागि खुल्ला हो,’ उनले भने ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update