Odapalika - The Fourth Estate - चौथो अंग
सहज बन्दै चिनीको कारोबार, साल्टट्रेडिङले बढायो बिक्री कोटा

काठमाडौँ । साल्टट्रेडिङ कर्पाेरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पाेरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पु¥याएको हो । 

प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ । कर्पाेरेशनका व्यवस्थापक ब्रजेश झाका अनुसार हालसम्म चार सय ५० भन्दाबढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पाेरेशनबाट लगिसकेका छन् । 

काठमाडाैँ उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले कर्पाेरेशनबाट चिनी लिन सक्ने भन्दै उनले सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी एकसय १२ रुपैयाँ ५० पैसामा खुद्रा बिक्री कर्तालाई चिनी बिक्री गरेको हो ।  

कर्पाेरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी ९७ रुपैयाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै कर्पाेरेशनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको हो । 

दसैँ, तिहार, छठजस्ता मुख्य चाडबाडमा देशभर ३५ हजार मेक्ट्रिकटन चिनी खपत हुने गरेको आँकडा छ । तर सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा आमउपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आउने गर्दछन् । 

सरकारले कर्पाेरेशनलाई भारतसँग जिटुजीमार्फत १० हजार मेक्ट्रिकटन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो । तर भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ । कर्पाेरेशनले चिनी बिक्री वितरणलाई सहज बनाउन उच्च प्राथमिकता दिएको व्यवस्थापक झाले बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update