Odapalika - The Fourth Estate - चौथो अंग
बुढीगण्डकीको नाममा सरकारले फेरि उठायो कर, निर्माण होला त आयोजना ?

काठमाडौँ । सरकारले बुढीगण्डकी आयोजना निर्माणका लागि पुनः कर उठाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वाधार विकास करमा उठाउँदै आएको रकममध्ये ५ रुपैयाँ उक्त आयोजनामा उठाउने निर्णय गरेको हो । 

सरकारले यसअघि पूर्वाधार विकासमा प्रतिलिटर १० रुपैयाँ कर उठाउँदै आएको थियो । 

सरकारले आर्थिक वर्ष २०७३/०७४ बाट बुढीगण्डकी आयोजना निर्माणका लागि इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिंदै आएको थियो । लामो समयसम्म कर उठाएपनि आयोजना निर्माण सुरु नभएपछि २०७६ फागुनदेखि उक्त शिर्षकमा उठाउँदै आएको कर संकलन गर्न छोडिएको थियो । 

प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएसँगै उनले पुनः बुढिगण्डकी आयोजना निर्माणमा चासो देखाएका थिए । उनले गत साउनमा बुढिगण्डकी आयोजना निर्माण गर्नेभन्दै फिल्ड कार्यालय नै स्थापना गरेका थिए । 

सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ । घर गोठ, बोटबिरुवातर्फ छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको छ । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update