Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँका सडकका गाईबाच्छा अब दक्षिणकालीमा व्यवस्थापन 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काञ्जी हाउस सञ्चालनमा ल्याएको छ । महानगरपालिकाका विभिन्न स्थानका सार्वजनिक ठाउँबाट नगर प्रहरी बलबाट खटिएका प्रहरीहरुले बाच्छाबाच्छी संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नम्बर ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा पु¥याएका छन् । 

काठमाडौँका सडक, नदी किनारा, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा छाडा चौपाया भेटिने गरेका छन् । यस्ता वेवारिसे चौपायाको संरक्षण र व्यवस्थापन गर्ने दायित्व पूरा गर्दै महानगरपालिकाले काम थालेको हो । 

सडकमा भोक लाग्दा खान नपाउने, तिर्खा लागेका बेला पानी नपाउने, रोग लाग्दा उपचार नपाउने चौपायाले अव यस्तो करुण अवस्था भोग्नु पर्दैन । सवारी दुर्घटनाको जोखिममा पर्नु पर्दैन । 

चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइएको छ । हेरचाह गर्न स्थानीय २ जनालाई दैनिक ज्यालादारीमा जिम्मेवारी दिइएको छ । 

यस ठाउँमा काञ्जी हाउस सञ्चालन गर्न ३ फागुन २०७८ मा काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको हो । 

सम्झौता हुनुअघि यो ठाउँमा मिलीजुली पशुपालन समूहले पशु पालन गर्दै आएको थियो । प्रदेश सरकार र दक्षिणकाली नगरको सहयोग लिएर केही टहरासहितको पूर्वाधार, त्यस क्षेत्रमा पुग्ने बाटो, बिजुली पानीलगायतका सुविधा व्यवस्था गरेर थालिएको पशुपालन कोविड लगायत समस्याबाट नियमित हुन सकेन । यही ठाउँको पूर्वाधार निर्माणमा लागेको खर्च फिर्ता गरेर स्थान सञ्चालन गर्ने सर्तसहित सम्झौता भएको हो । 

यस ठाउँमा १२६ रोपनी जमिन छ । यो जमिनमा चौपाया पालनका लागि डाले तथा भुइँ घाँस लगाउन र क्षेत्र बारेर चरन बनाउन सकिनेछ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update