Odapalika - The Fourth Estate - चौथो अंग
आजदेखि रुकुम पश्चिममा मृतकका परिवारलाई राहत रकम बाँड्दै सरकार, जाजरकोटमा समय लाग्ने

काठमाडौँ । रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि राहत रकम वितरण गरिँदै छ । सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको दुई लाख रुपैयाँ वितरण गर्न लागिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार आज सानीभेरी गाउँपालिकाबाट राहत रकम वितरण थालिनेछ । सानीभेरीमा भूकम्पमा परी १० जनाले ज्यान गुमाएका थिए । 

‘प्रति मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले नगद दिइनेछ’, उनले भने । शनिबार आठबीसकोट नगरपालिकामा राहत रकम वितरण गरिने सहायक प्रजिअ बढुवालले बताए । आठबीसकोटमा भूकम्पका कारण ४२ जनाको मृत्यु भएको थियो । मृतकका नजिकका कानुनी हकवालालाई राहत रकम वितरण गरिने छ । 

जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ । अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए । 

मृतकका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी नै रहेकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने उनको भनाइ छ । जाजरकोटमा भूकम्पबाट एक सय एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update