Odapalika - The Fourth Estate - चौथो अंग
धनतेरसकै दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। आज धनतेरस पर्व मनाईदैछ । हिन्दू पञ्चाङ्गका अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । यससलाई धनसँग सम्बन्धित पर्वको रुपमा लिइन्छ । यस दिन सुनचाँदी लगायतका धातुका सामग्रीहरु खरिद गर्दा धन लाभ हुने बिश्वास गरिन्छ । धनतेरसको दिन सुनचाँदी लगायतका सामग्रीहरु नै खरिद गर्नुलाई शुभ मानिन्छ । आज सुन, चाँदी, तामा, पाला, गणेश लक्ष्मीको मूर्ति, आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ ।

यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ ।

बढ्यो सुनचाँदीको मूल्य

लगातार तीन दिन घटेको सुनको मूल्य शुक्रबार बढेको छ । बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update