Odapalika - The Fourth Estate - चौथो अंग
छठ पर्वः सिँगारिन थाल्यो जनकपुरधाम उपमहानगर क्षेत्र 

काठमाडौँ । दशैं र तिहारको समापनसँगै आउने अर्को पर्व छठको तयारी गर्ने चटारो सुरु भएको छ । छठ पर्वको मुख्य केन्द्र मानिएको जनकपुरधामका वासिन्दा स्थानीय पोखरीको सरसफाई र श्रृङ्गारपटारमा जुटिसकेका छन् ।

जनकपुरधामका पोखरीका घाटको सरसफाइ गरिएको छ भने मठमन्दिरहरुको श्रृंगारपटार पनि भइरहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको जनकपुरधामका गङ्गासागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीय क्लव र संघसंस्थाको अगुवाइमा  सरसफाइ गरेर सिँगार्ने काम भइरहेको छ ।

स्थानीय रामेश्वर साहको अनुभवमा यसपालिको छठ पर्व विगतको तुलनामा केही महँगो देखिएको छ । बजारमा सरसामानको मूल्य बढेको छ भने सामानको आपूर्ति पनि प्रभावकारी देखिँदैन ।

३ मंसिर षष्ठीको दिन विधिपूर्वक अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु गर्ने  चलन रहीआएको छ ।

अहिले गाउँगाउँ घरघरमा छठ पर्वका गीत गुन्जिने गरेको पाइन्छ । छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन् । 

बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । 

यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित तपोनरायण झा बताउँछन् । अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त गर्छन् ।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा भीड लाग्ने गर्दछ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको पण्डित कुशेश्वर उपाध्यायले बताए ।

ज्योतिषशास्त्रका आधारमा छठ पर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणायन हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर प्रभावकारी र मानवका लागि फलकारी हुने विश्वास छ ।

छठ पर्वको मुख्य प्रसादका रूपमा रहेका ठकुवा, भुसबा, केरा, फलफूल, मीठाइ, अदुवा, मटोबाट बनेको हाती, कुर्वार, दियो, घैटो, उखुलगायत बासबाट बनेका अन्य सामग्री प्रयोग गरिन्छ ।

छठका लागि जनकपुरधाम नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको धनुषाका प्रहरीले जनाएको छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रत बस्ने नारीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुर आदि परित्याग गरी व्रत बस्ने गर्छन् ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले सुनाए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update