काठमाडौँ । नेपालमै गुणस्तरका घोडा उत्पादन भएपनि उन्नत जातका घोडाका नाममा महँगो मूल्यमा भारत, हंगेरी, स्लोभाकियालगायतका देशबाट घोडा भित्रिने गरेका छन् ।
दोलखाको विगु गाउँपालिकाको लप्चीका स्थानीयको मुख्य पेसा नै याक–चौँरी र घोडा पालन हो । यो विकट गाउँका किसानले पुस्तौँदेखि चौँरी र घोडा पाल्दै आएका छन् ।
उत्पादन आफ्नो देशभित्र बिक्री गर्न ल्याउने बाटो समेत नहुँदा भन् लप्चीवासीले तिब्बती बजारको भर पर्नुपरेको छ ।
स्थानीय पेम्बा शेर्पाकाअनुसार लप्चीका १३ घर किसानले नै घोडा पालेका छन् । हरेक वर्ष घोडाका बछेडा र बछेडी उत्पादन हुन्छन् । घोडा बेच्न तिब्बती बजार कुटी पुर्याउनु पर्छ ।
लप्चीको घोडाको तिब्बतमा पनि राम्रो माग छ । ‘कुटीमा लप्चीको घोडा ५० हजारदेखि १ लाख २० हजार नेपाली रुपैयाँसम्ममा बिक्री हुन्छ, घोडा हेरेर मोल हुन्छ’, पेम्बाले भने ।
लप्चिबाट तिब्बत र्पुयाइएको कतिपय घोडा त्यहाँबाट नेपालतर्फ पनि आउँछन् । ‘नेपाल आउँदाती घोडाको मूल्य निक्कै बढेर आउँछ । ती घोडा सोझै नेपाल ल्याउने हो भने आफ्नै देशका गुणस्तरीय घोडा सस्तो मूल्यमा आउने थिए’, नेपाल शेर्पा संघ वाग्मती प्रदेशका सचिव दावासङ्बु शेर्पाले भने ।
लप्ची पुग्ने सडकको कुरै छाडौँ घोडेटो बाटो समेत छैन । दोलखाको सिंगटीबाट दुई दिनको जोखिमपूर्ण पहरोको पैदल यात्राबाट मात्र लप्ची पुगिन्छ । स्थानीयलाई आफ्नै देश भित्र आउजाउ गर्न जीवन जोखिममा पार्नुपर्छ । पशु बस्तु ल्याउने लैजाने कुरा त कल्पना गर्न पनि सकिँदैन ।
अहिले विगुको थाङ्जेबुसम्म सडक खोल्ने क्रम चलिरहेको छ । त्यहाँसम्म सडक खुल्यो भने एक दिन पैदल यात्रा पछि लप्ची पुग्न सकिन्छ । त्यो पनि सहज बाटो छैन ।
लप्चीसम्म पुग्ने घोडेटो बाटो मात्रै राम्रो बनाइदिने हो भने लप्चीका घोडा र चौँरी नेपालका अन्य भागमा र्पुयाउन सकिन्छ । त्यहाँको चौँरीजन्य उत्पादन पनि नेपाली बजारमा ल्याउन सकिन्छ । ‘अरू विकासको के कुरा गर्नु, सरकारले हामीलाई पैदल हिँड्ने बाटो त दिन सकेको छैन’, पेम्बाले भने ।