Odapalika - The Fourth Estate - चौथो अंग
सहिद लगनमा सामूहिक रेशम खेती 

गोरखा ।  गोरखाको सहिद लखन गाउँपालिकामा पहिलोपटक रेशम किराको व्यावसायिक खेती गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ घैरुङस्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम किराको व्यावसायिक खेती गर्न सुरु गरेको गाउँपालिकाका कृषि शाखाका ऋषि रोकाले जानकारी दिए ।

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषकले मिलेर समूहमार्फत रेशम किराको खेती गर्न सुरु गरेको उनले बताए ।

५ किलो कोकुन उत्पादनबाट सुरु भएको यो व्यवसायबाट अहिले ५० किलोसम्म उत्पादन हुन थालेको छ । धागो निकालेर बिक्री गर्दा बढी फाइदा हुने भए पनि प्रशोधनको काम भने सुरु भइनसकेकाले समूहले अहिले कोकुन नै बिक्री गर्दै आएको शाखा प्रमुख रोकाले बताए ।  धागो उत्पादन गरेर बिक्री गर्नसके प्रतिकेजी ५ हजार रुपैयाँमा बिक्री हुने उनको भनाइ छ । 

फार्ममा यस पटक ६० हजार रेशम किरा हालिएको मनकामना रेशम खेती कृषि समूहकी सदस्य लिना थापामगरले बताइन् । ‘किराले २८ दिनदेखि नै कोकुन हाल्न सुरु गर्छ ।  लगभग ४० दिनभित्रमा आम्दानी आइसक्ने अवस्थामा पुग्छ,’ उनले भनिन् । 

रेशम किरा पाल्न फार्मलगायतका संरचना निर्माणका लागि थोरै जग्गाले पनि गुग्ने भएकाले यसको खेती सजिलै गर्न सकिने किसानहरुको अनुभव छ । 

रेशम किराको खेती हेर्नका लागि गाउँपालिकाभित्र र बाहिरबाट विद्यार्थीसमेत आउने गरेको उनको भनाइ छ ।  उत्पादित कोकुन बिक्रीका लागि बजार भने समस्या हुँदै आएको छ । समयमा बिक्री नहँुदा कोकनको तौल घट्ने भएकाले कृषले अझै राम्रो आम्दानी भने गर्न पाएका छैनन् । 

समयमा खपत नहुँदा कोकुनलाई धेरै पटक सुकाउनुपर्ने भएकाले तौल धेरै घट्ने समस्या हुन्छ ।
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update