Odapalika - The Fourth Estate - चौथो अंग
भेडा जुधाई प्रतियोगिताको तयारीमा राप्ती सोनारी, जानकीमा पनि मेला भर्ने चटारो

काठमाडौँ ।  कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेको २ वटा स्थानीय तहमा मेला लाग्ने भएको छ । जानकी गाउँपालिका–२ जोगागाउँ र राप्तीसोनारी गाउँपालिकाको वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्छ । 

१३ देखि १६ मंसिरसम्म मेला सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए  । उनकाअनुसार यो वर्ष पनि विगतका वर्षमा जस्तै भव्यरूपमा मेला सञ्चालन गर्ने तयारी छ । 

उनकाअनुसार पुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्छन् । मेलामा राति सांस्कृतिक कार्यक्रमसमेत हुने गर्छ । ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष खाँले बताए ।

गुरुवा गाउँ मेलामा हुने भेडा जुधाई प्रतियोगिता हेर्न दर्शकको घुइँचो लाग्ने गरेको स्थानीय रमेश बर्मा बताउँछन् । मेलालाई व्यवस्थित तरिकाले सम्पन्न गर्न आवश्यक तयारी गरिएको वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जानकारी दिए । 

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरमा पनि प्रत्येका वर्ष तीनदिने डिग्रे मेला लाग्दै आएको छ । यस वर्ष राप्तीसोनारी–२ टिकुलीपुरमा १० मंसिरदेखि डिग्रे मेला सञ्चालन गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमारो केसीले जानकारी दिए । 

मेलामा विद्यालयस्तरीय नृत्य, खेलकुद प्रतियोगिता आयोजनाको तयारी छ । युवालाई खेलकुदमार्फत जोड्नका लागि भलिबल, ब्याडमिन्टनजस्ता खेल प्रतियोगिताको आयोजना पनि गरिएको अध्यक्ष केसी बताउँछन् ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update