Odapalika - The Fourth Estate - चौथो अंग
खुम्बु पासाङल्हामु गाउँपालिकाको प्रधानमन्त्रीसँग ३ माग, प्रचण्डको आश्वासनः काठमाडौँ पुगेपछि काम थाल्छु 

काठमाडौँ ।  खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा पुग्ने सडकलाई राष्ट्रिय योजनामा पार्न माग गरेको छ । शनिवार सोलुखुम्बु पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गाउँपालिकाका अध्यक्ष मिङ्माछिरी शेर्पाले ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

हवाई यातायातको भर पर्नु परेकोले त्यस क्षेत्रमा यातायातको सहज पहुँचको लागि प्रदेश सरकारसँग सहकार्य गरी पालिका केन्द्रसम्मको सडक निर्माणको काम द्रुत गतिमा भइरहेको जानकारी गराउँदै उनले सगरमाथा क्षेत्र जोड्ने सो सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।

ज्ञापन पत्रमा संयुक्त राष्ट्रसंघका महासचिव एण्टोनियो गुटेरसले हालै गरेको खुम्बु क्षेत्रको भ्रमणमा तापक्रम बढ्ने, हिमताल पग्लने र त्यसले जनतालाई भएको हानी नोक्सानीको विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख छ ।

जलवायु परिवर्तनको जोखिमबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरमा परेको समस्या र चुनौतीलाई समाधान गर्न क्षतिपूर्ति हुनुपर्छ भन्ने विषय यस वर्ष दुबईमा आयोजना हुने कोप २८ को सम्मेलनमा विश्वको ध्यानाकर्षण गराउन पनि आग्रह गरिएको छ ।

यस्तै उच्च हिमाली भूभाग र महँगो ढुवानीका कारण खाना पकाउने इन्धनको महँगीको मार खुम्बुवासीले वर्षौदेखि बेहोर्दै आएकोले सो गाउँपालिकामा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोडी जनजीवनलाई थप सहज बनाउन पनि खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाले आग्रह गरेका छन् ।

उक्त पत्रमा खुम्बु क्षेत्रमा यातायातको सहज पहुँचको लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गरि पालिका केन्द्रसम्मको सडक ट्रयाक खोलेको जानकारी गराइएको छ । 

जवाफमा दाहालले आफू खुम्बुको समग्र विकासमा सँगै खुम्बुबासीको साथमा रहेको बताए ।कालापत्थरमादीप प्रज्वलन गरी हस्तान्तरणसँगै राष्ट्रिय झण्डोत्तलन कार्यक्रममा सहभागी हुन खुम्बु पासाङ ल्यामु गाउँपालिका पुगेका उनले सगरमाथाको सुरक्षा र स्वच्छताको लागि अझ व्यवस्थित कार्यविधि निर्माणमा ध्यान दिने आश्वासन दिए । 

उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले मैले यो क्षेत्रमा तपाइँहरुसँग यो कार्यक्रम गरिसकेपछि काठमाडौँ पुगेपछि खुम्बु क्षेत्रको विकासको निम्ति कसरी योजना बनाउने र यहाँको पर्यटनलाई अझ व्यवस्थित बनाउन सगरमाथाको सुरक्षासँगै सफाईपनि व्यवस्थित बनाउन कार्यविधि कसरी बजाउने भन्ने बारेमा छलफल गरेर अगाडि बढ्ने विश्वास म तपाइँहरुलाई दिलाउन चाहन्छु ।’

khumbu maag1700362099.jpg

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update