Odapalika - The Fourth Estate - चौथो अंग
टेम्केमैयुङ–१ का वडाध्यक्ष र युवा जागेपछि...

भोजपुर ।  जिल्लाकै विकट मानिने टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ का बासिन्दा स्वतस्फूर्त रुपमा जागेपछि पानीले जीर्ण बनाएको वडाका मुख्य सडक श्रमदानबाटै सवारी चलाउन योग्य बनेको छ । 

सेतीबगरबाट बाघखोर जोड्ने वडाभित्रको मुख्य सडक वर्षाका कारण भत्किएपछि बिरामी बोक्ने एम्बुलेन्स समेत चल्न नसक्ने अवस्थामा पुगेपछि वडाध्यक्षको पहलमा वडावासीले श्रमदान गरेर ७ किलोमिटर सडक गाडी गुड्न मिल्ने बनाएका छन् । 

१ साउनबाट ७ साउनसम्म स्थानीयले स्वतस्फूर्त रुपमा श्रमदान गरेका कारण ७ किलोमिटर सडकमा अब एम्बुलेन्स र खाद्यान्न बोक्ने गाडी कुद्न मिल्ने बनाएका छौ,’ वडाध्यक्ष नरबहादुर राईले वडापालिकासँग टेलिफोनमा भने । 

वडा कार्यालयको समन्वयमा स्थानीयले १ हप्ता श्रमदान गरेर वडाको रिमचिम भन्ने स्थानसम्म सडक सुचारु गरेको भन्दै उनले १२ साउनबाट अर्को चरणको काम सुरु गरेर तिम्मा पाङखाङ, खम्वुखा, सुम्लिखा, तीन भङ्गाले हुँदै बाघखोर सम्म जोड्ने सडकमा गाडी कुदाउन मिल्ने बनाउने बताए । 

वडाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीयले स्वतस्फूर्तरुपमा सहयोग गरिरहेको उनको भनाइ छ । 

‘वडाभित्रका सबैजसो सडक निरन्तर परेको पानीका कारण बिग्रियो तर स्थानीय सरकारसँग मर्मतका लागि बजेट छैन । त्यही भएर स्थानीयको सहयोगमा काम भइरहेको छ,’ उनले भने । 

स्थानीय युवाहरु श्रमदानमा सक्रियरुपमा खटेको स्थानीयवासी बताउँछन् । आफ्नो ठाउँको विकास आफैँले गर्ने भन्दै युवा जागेपछि अहिले सात किलोमिटर बढी सडक मर्मत मात्र भएको छैन, राज्यकोषको ५ लाख रुपैयाँ भन्दा वढी रकमसमेत जोगिएको छ ।

गत वर्ष पनि वडावासीले श्रमदान गरेर वडाभरी बिजुलीको पोल गाड्नेदेखि तार बिछ्याउनेसम्मका काम गरे । विद्युत प्राधिकरणले दिएको पोल र तारलाइृ वडाका घरघरमा पुर्याएपछि अहिले गाउँ पनि झलमल्ल भएको वडाध्यक्ष राई सुनाउँछन् । 

लघु जलविद्युत आयोजनाको भरमा चलेको वडामा अहिले केन्द्रीय प्रशारण लाइनको बिजुली छ । अध्यक्ष राईका अनुसार स्थानीयवासी अहिले गाईभैँसीमा लागेको लम्पी स्किन रोग नियनत्रणमा खटिएका छन् । गाउँपालिकाले दिएको ५० प्रतिशत अनुदानमा स्थानीय युवालाई ३५ दिने तालिम दिएर उपचारमा खटाइएको वडाध्यक्ष राई बताउँछन् । 
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update