Odapalika - The Fourth Estate - चौथो अंग
खोटाङका सबै पालिकाले थाले पाठेघरको निःशुल्क शल्यक्रिया, दिक्तेल रुपाकोटले बनेपामा उपचार गराउने 

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आङ पाठेघर खस्ने को समस्या भएका महिलालाई शल्यक्रियाका लागि काभ्रेको बनेपा नगरपालिकास्थित सुविधायुक्त अस्पताल पुर्‍याएको छ । 

नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको परीक्षणका क्रममा पहिचान भएका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको हो । 

नगर प्रमुख तीर्थराज भट्टराईले अस्पताल आवत जावत, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी उनीहरुलाई उपचारमा लगिएको बताए । 

‘पाठेघर खसेर तेस्रो र चौथो चरण पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको छ । केही बिरामीलाई नगरपालिकाकै गाडीमा अस्पताल लगिएको छ । पहिलो चरणमा २३ जनालाई उपचारमा लैजाने तयारी गरिएको भए पनि अन्तिममा सात जनाले अस्पताल जान अस्वीकार गरेका छन्,’ उनले भने । 

शल्यक्रियालगायतका निःशुल्क उपचार गर्ने व्यवस्थासहित शनिबार बिरामी र उनीहरुका एक÷एक जना कुरुवालाई बनेपा पु¥याइएको र बाँकीलाई पनि केही दिनभित्रै बनेपा ल्याएर उपचार गराइने उनले जानकारी दिए ।

पाठेघर खसेका कारण समस्यामा परेका महिलाको पहिचान गर्दै निःशुल्क उपचारको व्यवस्थाका लागि नगरपालिकाले तीन महिनायता प्रत्येक वडामा ‘स्क्रीनिङ’ गरिरहेको छ । 

नगर प्रमुख भट्टराई, उपप्रमुख विशन राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्य लगायतको टोली पनि बनेपा गएका छन् । 

दोस्रो चरणमा यही ५ मंसिरमा बाँकी सबै बिरामीलाई निःशुल्क उपचारमा लैजाने तयारी गरिएको उपप्रमुख रार्ईले जानकारी दिए । हालसम्मको स्क्रीनिङका क्रममा पहिचान गरिएको ५३ जनाले उपचारमा जानका लागि नगरपालिकामा सम्पर्क गरेका छन् । 

पहिलो र दोस्रो तहको पाठेघर खसेका महिलाको शरीरमा भने स्वास्थ्यचौकीमै ‘रिङ प्रेसरी’ राखिएको छ । शिर मेमोरियल अस्पताल र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरसँगको सहकार्यमा नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क अप्रेशन गर्ने व्यवस्था मिलाएको हो । जिल्लाका १० वटै स्थानीय तहले पाठेघर खसेका महिलालाई सुविधायुक्त अस्पताल लगेर निःशुल्क उपचार गराउन थालेका छन् ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update