Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरको सानेपा क्षेत्रका सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई सामाजिक बहिष्कार 

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २ सानेपा क्षेत्रका सार्वजनिक स्थल र सडकमा फोहोर फाल्नेलाई सामाजिक कारवाही हुने गरी स्थानीय समुदाय सचेत हुनुपर्नेमा सरसफाई अभियानका अभियन्ता तथा सरोकारवालाहरुले जोड दिएका छन् । 

स्थानीय समुदायले नै सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई सामाजिक बहिष्कार गर्ने अभियान सुरु गर्नुपर्ने वडाध्यक्ष राजेश महर्जनले बताए । 

विगत ५ वर्षदेखि सञ्चालन भइरहेको ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियानको १९२औँ कार्यक्रममा शनिवार वडाध्यक्ष महर्जन तथा स्थानीय समुदायका अग्रज एवं प्रतिनिधिहिरुले यस्तो जोड दिएका हुन् । 

ललितपुर महानगरपालिका वडा नं २ सानेपामा शनिवार आयोजित कार्यक्रममा ललितपुर महानगरपाालिका वडा नं २ का अध्यक्ष महर्जनले ५ वर्षदेखि जनचेतना अभियान चलाउँदा पनि नसुध्रनेहरुलाई स्थानीय समुदायले आफ्नो आफ्नो ठाउँबाटै त्यस्ता व्यक्ति पहिचान र समुदायमा अस्वीकृत र बहिष्कार गर्न सुरु गर्नुपर्ने बताए ।

कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधिहरु, सानेपा प्रहरी प्रभाग, स्थानीय बासिन्दाहरु र विभिन्न सरोकारवालाहरु समेत गरी ६० जनाको सहभागिता रहेको अभियानका फोकल पर्सन लक्ष्मीप्रसाद घिमिरेले जानकारी दिए । 

ललितपुर चक्रपथको बाहिरी ट्रयाकमा रहेको इन्द्रायणी हाईटदेखि सुरु गरेर बल्खु पुलतर्फको खण्डमा अभियानका क्रममा सफाई गरिएको थियो । सहभागीहरुको टोलीले बिहान ७ः३० देखि ९ः०० बजेसम्म धुलो उठाउने, जाम भएको माटो सफा गर्ने र फोहोर हटाउने काम गरेको थियो । संकलन गरिएको करिब ५ टन फोहरलाई ट्रकद्वारा ढुवानी गरी व्यवस्थापन गरियो । 

कार्यक्रममा अभियानका सल्लाहकार एवं नेप्सेम्याकका अध्यक्ष टिकाराम दाहालले समुदायको सक्रियता र तदारुकता बेगर अभियानले मात्रै शहर सफा स्वच्छ र सभ्य नहुने बताउँदै स्थानीय समुदाय जागरुक हुनुपर्नेमा जोड दिए ।

यो अभियान २०७५ माघ १२ मा सुरु भइ हरेक शनिबार बिहानको साढे एक घण्टा ललितपुरका सडक सफा गर्दै नियमित सञ्चालनमा छ । यो अभियान ललितपुरको फोहर व्यवस्थापनमा क्रियाशील ८ वटा कम्पनीहरुको संयुक्त आयोजनामा सञ्चालित छ । 

सरसफाई अभियानले ललितपुर चक्रपथलाई धुलोमुक्त मात्र नभइ सौन्दर्य र सरसफाईको संरक्षण गर्ने सामूहिक दायित्वको स्मरण गराउने काम पनि गरेको अभियानका संयोजक लक्ष्मीप्रसाद गेलालले बताए । वातावरण संरक्षणप्रति समुदायको प्रतिबद्धताको प्रतिबिम्बको रुपमा र अन्यत्र समेत यस्ता प्रयासहरूको लागि सकारात्मक उदाहरणको रुपमा प्रस्तुत भइरहेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update