कालीगण्डकी नदी उत्पत्ति स्थल
कालीगण्डकी नदी नेपालका ३ वटा नदी प्रणालीमध्ये एक गण्डकीअन्तर्गत नारायणी नदीको सहायक नदी हो । चितवन र तनहुको संगम स्थल देवघाटधाम नजिक गएर कालीगण्डकी नदी नारायणी नदीमा मिसिन्छ । कालीगण्डकी नदीको सुरुआतचाहिँ नेपालको मुस्ताङ जिल्लाको न्युबिन हिमालको हिमसञ्चित क्षेत्रबाट भएको हो । यो क्षेत्रको उचाइ २० हजार ५४६ फिट (६ हजार २६८ मिटर) मा पर्छ । यो क्षेत्र नेपाल र तिब्बतको सिमानामा छ । स्थानीय स्तरमा कालीगण्डकी सुरुआतीको धारा (मूल) लाई छुमा खोला भन्ने गरेको पाइन्छ । यो धारा (मूल) हिन्दु धर्मको प्रसिद्ध कुण्ड दामोदर कुण्डसँगै छ । त्यसपछि कालीगण्डकी लोमान्थाङ क्षेत्रमा झरेको छ । लोमान्थाङ क्षेत्रमा नझर्दै यसको नाम निछु खोला वा छोरोउ खोला पनि भन्ने गरेको पाइन्छ । लोमान्थाङमा झरेपछि कालीगण्डकी दक्षिण-पश्चिममा बग्छ । त्यस स्थानमा यो खोलालाई मुस्ताङ खोला पनि भन्ने गरेको पाइन्छ । मुक्तिनाथ क्षेत्रमा आएपछि कालीगण्डकीमा झोङ खोला, काक खोला वा कृष्णा नदीको नामका प्रमुख सहायक नदी मिसिन्छन् ।
त्यसपछि नदी कालीगण्डकी घाटी वा अन्धा गल्छी भनिने पहाडको र धौलागिरि पहाडको (८१६७ मिटर उचाइ) पश्चिममा र अन्नपूणर् १, (८०९१ मिटर उचाइ) पूर्वमा हुँदै दक्षिणतिर बग्छ । यही घाटी नै संसारको गहिरो गल्छी हो । यो गल्छी २५२० मिटर गहिरो छ ।
त्यसपछि कालीगण्डकी नदी गहिरो गल्छी हुँदै दक्षिणतर्फ लाग्छ । यो नदी गलेश्वरको राहुघाट खोला, बेनीको म्याग्दी खोला, कुश्मा नजिकैको मोदी खोला र रिडी बजारमाथि रुद्रबेनीमा बडिगाडसँग मिल्छ ।
तत्पश्चात् नदी महाभारत क्षेत्रको उत्तरी किनारबाट बग्न थाल्छ । दक्षिणतर्फ फर्किंदै गर्दा महाभारतलाई छेडेर कालीगण्डकी देवघाट पुग्दै प्रमुख सहायक नदी, त्रिशूली, पूर्वी राप्ती नदीसँग मिलेर नारायणी हुँदै अघि बढ्छ । देवघाटबाट गैँडाकोट शहरको दक्षिण-पश्चिममा बग्छ । पछि यो नदी दक्षिण-पूर्वतर्फ फर्किन्छ र भारतमा प्रवेश गर्दा यसलाई गण्डक भनिन्छ ।
यसरी नारायणीसम्म आइपुग्दा कालीगण्डकीको कुल लम्बाइ ३१६ किमी छ । त्यसमै नारायणी हुँदै गर्दा यसको कुल लम्बाइ ८१४ किलोमिटर हुन्छ । यस्तै यसको कुल जलाधार क्षेत्रचाहिँ ४३ हजार वर्गकिलोमिटर छ । कालीगण्डकी नदी हिमालय क्षेत्रबाट सुरु भई बहने हुनाले यसको बहाव औसतमा समान प्रकृतिको हुन्छ । यसको औसत पानीको मात्रा १७६० घनमिटर प्रतिसेकेन्ड मापन गरिएको छ ।
कालीगण्डकी जलाधार क्षेत्र नेपालको नारायणी बेसिनको एउटा महŒवपूणर् उप-बेसिन हो । नारायणी गंगा नदी जलाधारको प्रमुख सहायक नदी हो । यसको जलाधार क्षेत्र लगभग ११ हजार ८३० वर्गकिमी छ । कालीगण्डकी जलाधार क्षेत्रभित्रको उचाइ १८८ देखि ८१४३ मिटरसम्म फैलिएको छ । यसरी सानो क्षेत्रमा भएको विविधतायुक्त भूबनोट कालीगण्डकी क्षेत्रको विशेषता हो । कालीगण्डकी क्षेत्रको माथिल्लो क्षेत्र उच्च उचाइ, कम तापक्रम र केही हिमनदीसहितको विशेषता बोकेको क्षेत्र हो । मिश्रलगायतको २०१४ को अध्ययनअनुसार स्थायी हिउँले माथिल्लो क्षेत्रको लगभग ३३ प्रतिशत क्षेत्र ओगटेको छ । जबकि योमध्ये हिउँको आधाभन्दा बढी (५२०० मिटर उचाइभन्दा माथि) हुन्छ । जलाधार क्षेत्रको मध्य क्षेत्रमा धेरैजसो पहाडी र उच्च उचाइ भएको भूभाग छ । दक्षिणका मैदानहरूमा उप-उष्ण कटिबन्धीय जलवायु र उच्च वर्षा हुने खालका छन् ।
हिन्दु धर्म र कालीगण्डकी
हिन्दु पुराणहरूमध्ये देवी भगवतीको महात्माबारे लेखिएको ‘देवी भागवत’ पुराणमा कालीगण्डकीमा मात्रै पाउने शालिग्राम बारेमा एउटा कथा उल्लेख गरिएको छ । पुराणमा धर्मदेवजा नामक राजाको वणर्न छ, जो सुरुमा देवी लक्ष्मीका भक्त थिए र पछि उनका प्रतिद्वन्द्वी भए । लक्ष्मीलाई धर्मदेवजाले धेरै दुःख दिने कोसिस गरे । उनका छोरा पद्मद्वाजले आफ्नो बुबाको गल्ती महसुस गरे र लक्ष्मीको भक्त भए । उनको भक्तिबाट प्रसन्न भएर लक्ष्मी आफैँ तुलसीका रूपमा अवतार लिइन् ।
पछि तुलसी भगवान् कृष्णको प्रेममा डुबिन् । तिनीहरूले आफ्नो बन्धन अमर गर्न विवाह गरे । भगवान् कृष्णले आफूलाई सालवर्ग (शालिग्राम) र तुलसीलाई गण्डकी (कालीगण्डकी) नदीका रूपमा बदले । आज पनि सालवर्ग (शालिग्राम) केवल कालीगण्डकी नदीमा फेला पार्न सकिन्छ ।
यसैगरी, श्री स्वास्थानी व्रतकथामा वणर्न गरेअनुसार जालन्धरको श्रापबाट विष्णु भगवान्ले ढुंगाको रूपमा शालिग्राम भएर रहेका हुन् । यसबाहेक कालीगण्डकी नदीको सुरुआतदेखि भारतसम्म मिल्ने क्रममा हिन्दु ऋषिमुनिहरूको पवित्र तपोभूमि छन् । दामोदर कुण्डदेखि मुक्तिनाथ, गलेश्वरधाम, बागलुङ कालिका, मोदीबेनी धाम, जैमुनीघाट, बेलबगर, रुद्रबेनी हुँदै देवघाटसम्म आइपुग्दा दर्जनौँ ऋषिमुनिको तपस्या स्थल छन् । यसैगरी, यही जलाधार क्षेत्रभित्र नै रहेर वेदव्यासले ४ वेद लेखेको भन्ने धार्मिक विश्वास छ । कालीगण्डकी क्षेत्र कैलाश क्षेत्रसम्म पुग्ने छोटो बाटो पनि हो ।
विभिन्न हिन्दु धार्मिक धर्मग्रन्थमा वणर्न गरिएअनुसार कालीगण्डकीमा स्नान मात्रले पनि कैयौँ पापबाट मुक्त हुने कुरा व्यक्त गरिएको छ । हिन्दु धर्म र सभ्यताअनुसार कुनै न कुनै रूपमा हिन्दु सभ्यताको सुरुआत यही कालीगण्डकी किनारामा विकास भएका बस्ती, धार्मिक स्थल, मठमन्दिर तथा स्नान गर्ने घाटहरूमार्फत् भएको देखिन्छ । सँगै यिनीहरूले यो नदीको पवित्रता तथा महŒव अत्यन्तै रहेको देखाउँछन् ।
बौद्ध धर्ममा कालीगण्डकी
यो बौद्धहरूका लागि एक पवित्र स्थान हो, जसले यसलाई चुमीग ज्ञानात् भनेर चिनिन्छ, जसको अर्थ ‘सयौँ पानी’ हो । हिन्दुहरूले यस ठाउँलाई मुक्तिनाथ र मुक्तिक्षेत्र भनेका छन्, जसको शाब्दिक अर्थ ‘मुक्तिको ठाउँ’ हो ।
इसापूर्व दोस्रो शताब्दीमा लुम्बिनीबाट लोमाङ हुँदै चीनसम्म बुद्ध दर्शनले प्रवेश पाएको तथ्य फेला परेको छ । नेपालमा बुद्ध दर्शनको विकास भएको छ भन्ने सुन्ने पहिलो चाइनिज चाङ चिङ थिए । हान वंशका सम्राट मिङ तीले सन् ६८ मा बुद्धबारे सपना देखे र बुझ्न उनका एक कर्मचारी काय युङलाई दक्षिण एसियातिर पठाए । उनी ३ वर्षपछि आफूले फेला पारेको तथ्य तथ्यांक बुद्धका प्रतिमासहित २ जना बुद्धिस्ट स मो यङ र छ फा लानलाई साथमा लिएर गए । उनीहरूले मिङ्दीको दरबारमा बसेर बुद्ध दर्शनको प्रचार गरे । ती दुवै व्यक्ति नेपाली बौद्धिस्ट हुनुपर्छ । मुस्ताङ बुद्ध गुम्बाहरूको महŒवपूणर् प्राचीन ऐतिहासिक स्थल हो । पुराताŒिवक वस्तुहरूको खोजी हुँदै छ । आज संसारको ध्यान मुस्ताङमा केन्द्रित हुँदै गएको छ । बुद्ध मत लिएर पहिलो पटक चीन जाने २ बौद्ध भिक्षु मुस्ताङी हुनुपर्छ । तिब्बतबाट मुस्ताङ हुँदै लुम्बिनीसम्मको सजिलो बाटो कालीको किनारबाहेक अरू सम्भव थिएन ।
वातावरणीय पक्ष
कालीगण्डकी जलाधार मात्रै लगभग ११ हजार ७७० वर्गकिमी समेट्छ । यसको उचाइगत फरक चाहिँ १८८ मिटरदेखि ८१४७ मिटर छ । २३.४ प्रतिशत भूभाग खाली जमिन छ । २३.६ प्रतिशत भूभाग कृषिजन्य छ । ५१.३ प्रतिशत भूभाग वन तथा अन्य बुट्यानले ढाकेको क्षेत्र पर्छ । र, ०.४ प्रतिशत भूभाग पानीले ढाकेको छ । १.३ प्रतिशत भूभाग हिउँले ढाकेको छ । यत्रो भौगोलिक विविधतायुक्त कालीगण्डकीको क्षेत्र जलावायुजन्य रूपमा पनि विविधतायुक्त छ । टुंड्रा अल्पाइन हुँदै समशीतोष्ण, उष्ण प्रकृतिको हावापानी पाइन्छ । जलवायुको पक्षमा हेर्दा वार्षिक रूपमा २७५ मिलिलिटरदेखि ६ हजार २३८ मिलिलिटरसम्म वर्षा हुने गरेको तथ्यांक जल तथा मौसम विज्ञान विभागसँग छ । विभिन्न अनुसन्धानले जलवायु परिवर्तनका कारण यो क्षेत्रमा पानी पर्ने तथा जल बहावमा परिवर्तन हुँदै आएको देखाएको छ ।
कालीगण्डकी क्षेत्रमा परेको प्रभाव
क . कालीगण्डकी नदी र सभ्यतामाथि पक्ष
यो ऐतिहासिक तथा साँस्कृतिक अनि धार्मिक महŒव बोकेको कालीगण्डकी जलाधार समग्र वातावरण चुनौतीको सिकार बनेको छ । कतिपय विकास निर्माणका काम नदीलाई नै प्रभाव पार्ने गरी हुँदै गएका छन् । कतिपय काम योजनामै सीमित छन् । तथापि आगामी दिनमा नदी प्रवाह तथा योसँग सम्बन्धित पक्षहरू समावेश हुँदै गर्दा नदी र समग्र क्षेत्रको प्रभाव न्यूनीकरणको कार्ययोजना बन्नुपर्ने हुन्छ ।
ख . कालीगण्डकी दोहनको पक्ष
नदीको प्राकृतिक स्रोत मूलतः नदीको बहावसँगै बगेर आउने ढुंगा, गिटी, बालुवाको स्थानीय सरकारले गर्दै गरेको अधिक दोहनले कालीगण्डकी नदी क्षत्विक्षत् बन्दै गएको छ । विगतदेखि कालीगण्डकीभित्रका सामग्रीहरूको अत्यधिक दोहनले नदीको दिगोपनलाई घटाई विपद् बढाउँछ । झनै कालीगण्डकी जस्तो जन्मेदेखि मरेसम्मका सबै परम्पराको स्रोत र स्थलमा हुने अत्यधिक दोहन अस्वीकार्य छ ।
ग . परिवर्तित वातावरणीय प्रभावको पक्ष
वातावरणीय परिवर्तनले अन्य क्षेत्रजस्तै कालीगण्डकी जलाधार क्षेत्रमा पनि प्रभाव पारेको छ । पारिस्थितिक प्रणाली, वन बुट्यान, हावापानी, भूगोल, भूबनोट, जनावर तथा समाज विकासको पक्ष पनि नदी र त्यसमा बहने पानीले महŒवपूणर् तरिकाले नियन्त्रण गरिरहेको हुन्छ । यो वैज्ञानिक पक्षलाई हृदयंगम गर्दा अर्को मूल्यांकनको पक्ष के हो भने त्यस क्षेत्रको वातावरणीय पक्षमा पर्न सक्ने प्रभावको मिहिन रूपमा अध्ययन नगरी संरक्षण सम्भव छैन । प्रकृतिको विविध रूपलाई बुझेर गरिने प्रभावको व्यवस्थापन जटिल छ ।
विकासका लागि प्रकृति प्रदत्त स्रोतको समुचित उपयोग हुनुपर्छ । तथापि ती स्रोतहरूको उपयोग गर्दै गर्दा त्यसका विविध पक्षलाई हेर्नु अनिवार्य छ । सबै पक्षलाई समुचित हेर्ने पद्धतिलाई वातावरणीय प्रभाव मूल्यांकन भन्ने गरिन्छ । कालीगण्डकी सभ्यता सँगसँगै उच्चतम वातावरणीय तथा सांस्कृतिक, धार्मिक, आर्थिक, सामाजिक महत्वको यो नदी र नदी सभ्यताको संरक्षण आवश्यक छ ।
(वातावरणविद् पोखरेल कालीगण्डकी जलाधारको विषयमा विद्यावारिधि गर्दै छन् ।)