Odapalika - The Fourth Estate - चौथो अंग
हिंसा भड्किन सक्ने भन्दै माइतीघर–बानेश्वर क्षेत्रमा १ महिनाका लागि प्रदर्शन निषेध

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वरदेखि माइतीघर मण्डलासम्मको क्षेत्रलाई एक महिना सम्म निषेधित क्षेत्र घोषणा गरेको छ । 

आजदेखि काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध, धर्ना, प्रर्दशनलगायतका कार्य गर्न पाइने छैन ।

जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

युवा संघ र व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टा छुट्टै घोषणा गरेका थिए । सो प्रर्दशनका क्रममा हिंसा भड्किन सक्ने देखिएकाले प्रशासनले निषोधित क्षेत्र घोषणा गरेको हो ।

। प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा ७ गते कार्यक्रम गर्न नदिने बताएको थियो । निषेधिन क्षेत्र घोषणापछि उनीहरुलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ । वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ ।

प्रशासनको निर्णय अनुसार, पद्य्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, घेराउ, प्रदर्शन, धर्ना, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update