Odapalika - The Fourth Estate - चौथो अंग
सार्वजनिक स्थलमा राष्ट्रिय झण्डाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई, राष्ट्रिय गानको अपमान गरे १० हजार जरिमाना !

काठमाडौँ । राष्ट्रिय गान बजिरहँदा तपाई कसरी उभिनुहुन्छ ? तपाईले हात र खुट्टाको पोजिसन कस्तो बनाउनुहुन्छ ? धेरै औपचारिक कार्यक्रममा सहभागीहरुले प्रायः सिधा उभिएर हात राख्ने गरेको पाइन्छ । के यसरी उभिदा राष्ट्रिय गानको सम्मान हुन्छ ?

राष्ट्रिय गान बज्दा तपाइँले के गर्ने भन्ने विषयमा अझैपनि सर्वसाधारण अनविज्ञ छन् । यसलाई हल गर्न सरकारले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ ।

यो विधेयममा यसअघि भएको कानुनी व्यवस्थालाई थप व्याख्यामात्र गरिएको छैन स्थानीयदेखि संघीय सरकारसम्मका प्रमुख र प्रतिनिधिको भ्रूमिकासम्मको व्याख्या गरिएको छ । 

राष्ट्रिय सभाको बैठकले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत गरेको छ । गत चैतमा बसेको बैठकले उक्त विधेयक पास गरेसँगै राष्ट्रिय गान कसरी गाउने र सम्मान कसरी प्रकट गर्ने व्यवस्था उल्लेख छ । 

विधेयकअनुसार राष्ट्रिय उत्सव, विभिन्न औपचारिक कार्यक्रम, विभागीय (फौजी), सैन्य सम्मान, विद्यार्थी प्रार्थना, खेलकुद समारोह, रेडियो र टेलिभिजनमा राष्ट्रिय गानको प्रयोग अनिवार्य रूपमा गर्नुपर्नेछ । 

औपचारिक तथा विशेष समारोह र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कुनै पनि निकाय वा कार्यालय, गैरसरकारी संघ, संस्था तथा कूटनीतिक नियोगहरूले आयोजना गरेका औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय गान गाउँदा वा राष्ट्रिय धुन बजाउँदा अति विशिष्ट तथा विशिष्ट व्यक्ति वा सार्वजनिक ओहोदामा पदाधिकार रहेका वा नरहेका सर्वसाधारण सबैले हात तल झारी, खुट्टाका कुर्कुच्चा जोडी अगाडिका औंलातिरका दुई खुट्टाले ‘भी’ आकार बनाएर सतर्क अवस्थामा उभिएर शीर ठाडो गरी, छाती फराकिलो पारी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्ने उल्लेख छ ।

तर अपाङ्गता भएका व्यक्तिको हकमा निजको शारीरिक अवस्था अनुसार सम्मान प्रकट गर्न भने अअनुकुल अवस्थामा गर्न सकिने उल्लेख छ ।

अपमान गरे १० हजार जरिमाना

राष्ट्रिय झण्डा र राष्ट्रिय गानकोे अपमान हुने गरी, निजी उद्देश्य प्राप्तिका लागि वा गलत अर्थ प्रवाह हुने गरी असान्दर्भिक तवरले राष्ट्रिय झण्डा, राष्ट्रिय गान र मर्यादाक्रमको प्रयोग गर्न नहुने गरी कानुन बन्दै छ । 

कसैले यो विधेयकअनुसारको कार्य नगरेमा अर्थाता राष्ट्रिय झण्डा र गानको अपमान गरेमा सम्वन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले त्यस्तो व्यक्तिलाई पहिलो पटक भए सम्झाई बुझाई आगामी दिनमा यसो नगर्न सुझाउने छ ।

सम्झाई बुझाई गरिसकेपछि पनि पुनः सोही कसुर गरेमा कसुरको गाम्भीर्यता हेरी १० हजार रुपैयाँसम्म जरिमाना गर्न सक्नेछ कसुर गर्ने व्यक्ति सजायका क्रममा स्वयं उपस्थित नभएमा प्रमुख जिल्ला अधिकारीले कसुर गर्ने व्यक्ति रहेको क्षेत्रको प्रहरी कार्यालयलाई निजलाई नियन्त्रणमा लिई उपस्थित गराउन आदेश दिन सक्ने कानुनी व्यवस्था छ ।

झण्डा फेर्ने दायित्व स्थानीय तहको 

सरकारले बनाएको नयाँ विधेयकमा सार्वजनिक स्थलमा राखिएका राष्ट्रिय झण्डाको व्यवस्थापन र पुरानो भएमा फर्ने दायित्व स्थानीय तहलाई दिइएको छ । 

विधेयकमा विदेशी अतिविशिष्ट पाहुनाहरुको स्वागतमा सार्वजनिक स्थल र सडकमा झण्डा राख्ने र त्यसको व्यवस्थापन गर्ने जिम्मा पनि स्थानीय सरकारलाई छ । यस्ता स्थानमा राखिएका झण्डा नयाँ बर्ष र संविधान दिवसको अवसर पारेर वर्षमा एकफटक फर्नैपर्ने र यसको दायित्वसमेत स्थानीय तहको हुने विधेयकमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update