Odapalika - The Fourth Estate - चौथो अंग
अपाङ्गता दिवस मनाउन ललितपुर महानगरले बनायो समिति 

ललितपुर । ललितपुर महानगरपालिकाले ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन उपप्रमुखको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । 

प्रत्येक वर्ष डिसेम्बर ३ मा यो दिवस मनाइन्छ  । सप्ताहव्यापी रुपमा मनाइने यो दिवस सफल पार्न मूल समारोह समिति अन्तर्गत विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । 

दिवस मनाउने सन्दर्भमा ललितपुर महानगरले बैठक आयोजना गरेको थियो । बैठकमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियोे । बैठकमा ललितपुर महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरले दिवस मनाउनका लागि मात्रै कार्यक्रम आयोजना नगरेको बताइन् । 

उनले भनिन्, ‘हामीले वर्षभरि नै अपाङ्गता सम्बन्धी कार्यक्रम आयोजना गरेका छौँ, यो ती मध्येको एक हो ।’ उनले महिला, बालबालिका र अपाङ्गता भएकाको क्षेत्रमा महानगरले गर्न खोजेको धेरैवटा काम बाँकी रहेको बताउँदै बाँकी कामलाई योजनाबद्ध ढंगबाट अघि बढाउने बताइन् । 

प्रत्येक व्यक्तिका लागि मनोबल अत्यावश्यक भएको बताउँदै उनले अपाङगता दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत एक दिन योग र ध्यानलाई समेत समेट्न अनुरोध गरिन् । उनले भनिन् ‘योग र ध्यानले व्यक्तिको मनोबल उच्च हुन्छ, प्रत्येक क्षेत्रलाई यो आवश्यक छ, त्यसैले यसलाई कार्यक्रममा समेटौं ।’ ’ 

महानगरभित्रका अपाङगता भएकाको लागि सहयोगीको व्यवस्था गर्ने सम्बन्धमा धमाधम काम भइरहेको उनले जानकारी दिइन् । ‘योसँग सम्बन्धित कार्यविधि छिट्टै कार्यपालिका बैठकमा लैजान्छौं ।’

सामाजिक विकास समितिका संयोजक तथा ललितपुर महानगर वडा नंं ९ का वडा अध्यक्ष राज महर्जनले महानगर अपाङ्गता भएकाहरुकोे विषयमा बढी संवेदनशील भएको बताए । उनले भने, ‘पूर्वाधार निर्माण, लगायत लिफ्ट, अपाङगतामैत्री फुटपाथ, अपाङगतामैत्री आकाशेपुलको निर्माणलाई अघि बढाएका छौं ।’

सामाजिक विकास समितिका सदस्य तथा वडा नं १८ का वडा अध्यक्ष दामोदर खड्काले महानगरले अपाङ्गता भएकाहरुको लागि अधिकारमुखी अवधारणाबाट कार्यक्रम ल्याएको बताए । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update