Odapalika - The Fourth Estate - चौथो अंग
सयपत्री फूल बिकेन ? चिन्ता नलिनुस् बनस्पति विभागले सिकाउँदै छ क्रिमदेखि तेलसम्म बनाउने तरिका 

काठमाडौँ । तिहारको समयमा सयपत्री फूल बिक्री नभएको गुनासो आइरहँदा सरकारले फूलको पुन: प्रयोगका लागि तालिम दिने भएको छ । 

वनस्पति विभागले सुकेर खेर गएको सयपत्रीको फूलबाट सौन्दर्य सामग्री बनाउनका लागि निःशुल्क तालिम दिन लागेको छ । 

विभागले ४ दिनका लागि निःशुल्क तालिम दिन लागेको सूचना अधिकारी राजेश्वर रंजितकारले जानकारी दिए । उनका अनुसार तालिम लिन इच्छुक कम्पनी तथा फर्मलाई आवेदन दिन यसअघि नै सूचना प्रकाशन गरिएको थियो । 

उक्त सूचना अनुसार विभागले अबको केही दिनमै तालिम सुरु गर्न लागेको छ । ‘हामीले आह्वान गरेको सूचना अनुसार धेरै संघसंस्था, कम्पनी तथा व्यावसायिक समूहलाई सम्पर्कमा आउनुभएको छ, उहाँहरुको इच्छा अनुसार विभिन्न सिष्टमा तालिम सुरु गर्ने हाम्रो तयारी छ’, उनले भने, ‘एक सिफ्टमा २० जनालाई राखेर अबको एक दुई दिनभित्रमै हामीले तालिम सुरु गरिहाल्छाँै ।’

उनले चार दिनको तालिममा फूलबाट ल्युटिन निकाल्ने तरिका र निकालिएको ल्युटिनबाट सौन्दर्य सामग्री बनाउने तरिका सिकाइने जानकारी दिए । 

उनका अनुसार उक्त तालिम थापाथलीस्थित विभागको प्रयोगशालामा हुनेछ । फूलबाट ल्युटिन निकाल्नुपर्ने भएका कारण प्रयोगशालामा परीक्षण गरेर नै तालिम दिन लागिएको उनको भनाइ छ । 

सयपत्रीका फूलबाट ल्युटिन निकाल्न सकिन्छ । उक्त ल्युटिनबाट सौन्दर्य सामग्री क्रिम बनाउन सकिन्छ भने यसबाट सुगन्धित तेल पनि उत्पादन गर्न सकिन्छ । यस्तै, सयपत्रीको फूलबाट सुगन्धित अगरबत्ती बनाउन सकिन्छ । 

संस्था मार्फत तालिममा सहभागिता जनाउन सकिने

विभागले संस्था मार्फत आएका सहभागीहरुलाई मात्र तालिममा सहभागी गराइने जनाएको छ । ‘अहिले हामीकहाँ धेरै व्यक्तिहरुले सम्पर्क राख्नुभएको छ, सयपत्रीको फूलबाट ल्युटिन उत्पादनको तालिम व्यक्तिमार्फत नभएर संस्थामार्फत हामीले गर्न लागेका हाैँ, जुनसुकै उद्यम तथा व्यवसाय सञ्चालन गरेकाले उक्त तालिममा सहभागिता जनाउन पाउनेछन् । तर एकल व्यक्ति (कुनै पनि संस्थामा आवद्ध नभएका) हरुलाई सहभागी गराइदैन,’ उनले भने । 

उनले विभागका प्राविधिक तथा विदेशी प्राविधिकले संयुक्त रुपमा तालिम दिनेछन् । ‘हामीले तालिम दिएपछि त्यसको उपयोग गर्नुपर्ने भएका कारण हाल साना तथा घरेलु उत्पादन गरेका संघ संस्थाहरुलाई प्राथमिकतामा दिन लागेका हौँ, अहिले धरैको माग छ, माग आउँदासम्म हामीले तालिम दिन्छाैँ,’ उनले भने, ‘विभागका प्राविधिक तथा केही विदेशी प्राविधिकहरुले ल्युटिन निकाल्ने तथा सौन्दर्यका सामग्री उत्पादन गर्न सिकाउनेछन् ।’

केमा प्रयोग हुन्छ ल्युटिन ?

सुकेर खेर जाने सयपत्रीको फूलबाट विभिन्न प्रकारका सौन्दर्यका सामग्रीहरु बनाउन सकिने विभागका सूचना अधिकारी रन्जितकार बताउँछन् । उनका अनुसार सुकेको फूलबाट निकालिएको ल्युटिनबाट औषधि तथा सौन्दर्य सामग्री बनाइन्छ । यस्तै, ल्युटिनले आखाँसम्बन्धी रोग भएका व्यक्तिका लागि भिटामिन एको काम गर्छ भने चाउरी परेका छाला चम्किलो बनाउनुका साथै घामको प्रकाशबाट छालालाई जोगाउन मद्दत समेत गर्छ । 

फूलबाट खाने क्याप्सुल (भिटामिन ए), सौन्दर्यका सामग्री सन प्रोटेक्सन क्रिम (सनस्क्रिन), धुप, अगरबत्ती, सुगन्धित तेल बनाउन सकिने भएकाले किसान तथा व्यवसायीलाई यी सामग्री बनाउन तालिम दिइने उनले बताए ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update