Odapalika - The Fourth Estate - चौथो अंग
उच्च प्रशासनिक निकायमा आन्दोलनको भय 

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू गरेको छ । 

प्रशासनले ७ मंसिरलाई लक्षित गरी उच्च प्रशासनिक निकाय वरपर पनि मंगलबारबाट एक महिनाको लागि निषेधाज्ञा लागू गरेको हो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निकालेको सूचनामा राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, उपराष्ट्रपति भवन हरित गृह,संघीय संसद् भवन बानेश्वरर सिंहदरबार क्षेत्रलाई हिजोदेखि ३० दिनका लागि निषेधित क्षेत्र तोकिएको उल्लेख छ । 

काठमाडौं जिल्ला प्रशासनले सोमबार नै माइतीघर, नयाँबानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि हिजो एक सूचना निकालेर पुल्चोकमा रहेको मन्त्रीनिवास क्षेत्रलाई ६ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । 

भोलि दिउँसो नेकपा एमाले निकट युवा संघ र अस्पताल व्यवसायी दुर्गा प्रसार्इंको नेतृत्वमा काठमाडौंमा प्रदर्शनको आह्वान भएकाले प्रशासनले सम्भावित प्रदर्शन स्थलसँगै उच्च प्रशासनिक निकाय वरपरको क्षेत्रका विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update