Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्पको क्षति विवरण बुझाउन दैलेखका ११ स्थानीय तहलाई निर्देशन 

काठमाडौँ ।  जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले ५ दिनभित्रमा भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण बुझाउन स्थानीय तहलाई निर्देशन दिएको छ । 

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा मंगलबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा भूकम्पबाट भएका क्षतिको विवरण बुझाउन निर्देशन दिएको हो । 

बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर स्थानीय तहको विपद् व्यवस्थापन समितिबाट निर्णय गराई विपद् व्यवस्थापन समितिमा सिफारिस गर्न बैठकले निर्देश गरेको दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले जानकारी दिए ।  

विपद् व्यवस्थापन समितिको बैठकमा यसअघि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकका निर्णय कार्यान्वयनका विषयमा छलफल गरिएको थियो । बैठकमा विपद्को पूर्वतयारी, हेलिप्याडको व्यवस्थापन, सडकको स्तरोन्नति, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने विषयमा छलफल भएको थियो । 

स्वास्थ्य सेवा कार्यालय दैलेखलाई थप सेवा प्रभावकारी बनाउन यहाँका ११ वटै स्थानीय तहले ध्यान दिनुपर्ने विषयमा छलफल भएको प्रशासकीय अधिकृत कोइरालाले बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update