Odapalika - The Fourth Estate - चौथो अंग
म्यादे गाउँपालिकाको अफर : सुत्केरी गाईलाई २५ सय भत्ता, हलगोरु किन्दा ४ हजार पक्का  

तनहुँ । पछिल्लो समय स्थानीय तहरु वढ्दो वैदेशिक रोजगारीको क्रम रोक्न युवा लक्षित विभिन्न कार्यक्रम चलाइरहेका छन् । 

यो अभियानमा तनहुँको म्यादे गाउँपालिकाले भने कृषि र पशुपालनमा संलग्न स्थानीयलाई सुविधा दिन आकर्षक कार्यक्रमहरु कार्यान्वयन गर्दै आएको छ । 

पालिकाको पहलमा गाईभैँसी सुत्केरी हुँदा भत्ता बाँढ्नेदेखि हलगोरु किन्दा नगद अनुदान दिनेसम्मका कार्यक्रम प्रभावकारी बन्दै गएका छन् । 

त्यतिमात्र होइन, पालिका भित्रका दूग्ध उत्पादक कृषकले प्रतिलिटर १० रुपैयाँ अनुदान पाउनेदेखि जागरुक कृषकलाई निःशुल्क बोका उपलव्ध गराउनेसम्मको काम गर्दै आएको छ । 

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार पालिकाले पछिल्लो पटक अघि सारेको हलगोरु पोषण कार्यक्रमप्रति कृषकहरुको थामिनसक्नुको आकर्षण छ । 

पालिकाले हलगोरु किन्ने कृषकलाई १० हजार रुपैयाँ नगद अनुदान दिने कार्यक्रम अघि सा¥यो । तर कृषकहरुको आकर्षण यति वढ्यो कि पालिकाले यसका लागि छुट्याएको बजेट अपुग हुने देखिएपछि हाल अनुदान घटाएर ४ हजारमा झार्नुपरेको छ । 

‘हलगोरु किन्ने कृषकलाई १० हजार रुपैयाँ अनुदान दिने निर्णय गरेका थियौं तर गोरु किन्न चाहने कृषहरु यतिधेरै वढ्नुभयो कि बिनियोजन गरेको बजेटवाट सबैलाई नपुग्ने भएपछि हाल ४ हजार रुपैयाँ मात्र दिइरहेका छौं,’ अध्यक्ष श्रेष्ठले वडापालिकासँग टेलिफोनमा भने । 

त्यसो त पालिकाले खेत जोत्न कृषकहरुलाई हाते ट्रयाक्टरमा ५० प्रतिशत अनुदान पनि दिइरहेको छ । तर ट्रयाक्टर खरिद गर्न नसक्ने कृषकहरु मर्कामा पर्ने भएपछि गोरु खरिदमा अनुदान नीति लिइएको हो । 

‘७० हजार पर्ने ट्रयाक्टर खरिद गर्दा पालिकाले ३५ हजार अनुदान दिइरहेकै छ तर विपन्न कृषकहरु मारमा पर्ने भएकाले अर्को अवधारणा ल्याएर कृषकलाई सुविधा दिन खोजेका हौँ,’ पालिका अध्यक्ष श्रेष्ठ भन्छन् । 

पालिकाभित्र पशु बीमा कार्यक्रमलाई समेत प्रभावकारी बनाउन पालिकाले कृषकले बीमा गर्दा तिर्नुपर्ने रकमको २० प्रतिशत मध्येमा पनि १० प्रतिशत रकम व्यहोर्ने नीति लिएको छ । 

‘पशु बीमा गर्दा ८० प्रतिशत संघ र प्रदेश सरकारले र २० प्रतिशत कृषकले व्यहोर्ने नीति छ । त्यो २० प्रतिशतमध्येको १० प्रतिशत रकम पनि पालिकाले नै व्यहोर्ने भएपछि अहिले कृषकले १० प्रतिशत रकम मात्र भुक्तानी गरेपनि पशु बीमा हुने अवस्था बनाएका छौं,’ श्रेष्ठले भने । 

दूधमा अनुदान दिने पालिकाको निर्णय त यति प्रभावकारी बन्यो कि पछिल्लो ११ महिनामा कृषकले १ लाख ३३ हजार रुपैयाँसम्म अनुदानको रकम वुझेका छन् । 

अनुदान बापतको क्रमशः ८६ हजार र ८२ हजार रुपैयाँ बुझेका नवराज घिमिरे र शेषकान्त घिमिरे पालिकाको यो कार्यक्रमबाट यति हर्षित छन् कि उनीहरु अर्को वर्ष यो अनुदान दोव्वर बनाउने गरी दूध उत्पादनमा जुटिसकेका छन् । 

पालिकाले कृषकका गाईभैैसी सुत्केरी हुँदासमेत पोषण भत्ता वितरण गरिरहेको छ । ‘२५ सय देखि ३ हजारसम्म सुत्केरी पोषण भत्ता भनेर दिइरहेका छौं,’ अध्यक्ष श्रेष्ठ भन्छन् । यसले पशुपालनमा कृषकहरुलाई थप हौसला मिलेको उनको भनाइ छ । 

गतवर्षमात्र ५ लाख रुपैयाँ बरावरको तरकारीको विउ वाँढेको पालिकाले गाउँघरमा घुम्ती स्वास्थ्य क्लिनिक मार्फत मान्छे र पशुको उपचार गरिहरको छ । 

घुम्ती शिविरकै कारण पालिकाभित्र ९७ जना महिलामा पाठेघरको क्यान्सर पत्ता लागेको छ भने ती मध्ये १५ जनाको तत्काल अपरेसन गर्नुपर्ने अवस्था देखिएको पालिका अध्यक्षको भनाइ छ । 

त्यतिमात्र होइन शिविरका कारण हालसम्म पालिकाभित्र ४०० जना प्रेसर र ३०० जना सुगरका बिरामीको समेत पहिचान भइसकेको छ । ‘शिविरका कारण अब तत्काल कसको उपचार जरुरी छ, कसले सावधानी अपनाउनु पर्ने हो भन्नेसम्मका जानकारी पनि पालिकाले पाएको छ,’ अध्यक्ष श्रेष्ठ भन्छन् ।

कृषि विकासमा ध्यान केन्द्रित गरेको पालिकाले पशुका नश्ल सुधारदेखि सुन्तला, आलु, धानजस्ता वालीका विउ खरिदमा समेत ५० प्रतिशत अनुदान दिएर कृषकहरुलाई सहयोग गर्दै आएको छ ।  
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update