Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरले थप्यो दुई दमकल, विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताएका छन् । 

महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुईवटा अत्याधुनिक दमकल परिचालनको शुभारम्भ गर्दै उनले विपद् न्यूनीकरण र व्यवस्थापनका लागि सामूहिक प्रयत्नको खाँचो रहेको बताएका हुन् । 

‘हामीसँग एक सय ६ वर्ष पुरानो डेनिस दमकल पनि सञ्चालनमा रहेको छ । अहिले आएको यो दमकल अरू दमकल पुग्न नसक्ने ठाउँमा पनि पाइपको माध्यमबाट सहयोग पु¥याउने छ । पानीले ननिभ्ने आगोलाई फोम हालेर निभाउन मिल्ने यो दमकलले धेरै नै ठूलो सहयोग पुग्ने हाम्रो अपेक्षा छ’, उनले भने । 

महानगरका खरिद महाशाखा प्रमुख सागर थापाका अनुसार अमेरिकी मापदण्डका यी दुई दमकल खरिदका लागि २०७९ असोजमा सम्झौता भएको थियो । दुईवटा अत्याधुनिक दमकलको लागत मूल्य पाँच करोड ६५ लाख रुपैयाँ परेको छ । 

दमकलको प्राविधिक पक्षको जानकारी मेकानिकल गराउँदै महानगरका इन्जिनियर पुष्कर भट्टराईले यो दमकलले एक सय २० मिटरसम्म उच्च क्षमतामा पानी र केमिकलको फोहोरा हान्न सक्ने जानकारी दिए । उनका अनुसार ती दमकलमा दुई हजार पाँच सय लिटर पानी भण्डारण क्षमता छ । यी दमकलहरु उपत्यकाका सबै क्षेत्रमा विपद् पर्दा उपलब्ध हुने जनाइएको छ ।  

विपद् व्यवस्थापन, सडक पूर्वाधार र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको ललितपुर महानगरले यसअघि नै अत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याइसकेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update